![राहदानी विभागको ‘बेसमेन्ट’लाई महानगरले गरायो खाली [फोटोसहित]](https://lktcdn2.prixacdn.net/media/rahadani_bhibag_j4t5SVDTA8.jpg)
काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र साह (बालेन)काे निर्देशनपछि त्रिपुरेश्वरस्थित राहदानी विभागको प्रतिक्षा कक्षमा रहेको सबै कुर्सी हटाइएको छ । नक्सामा ‘बेसमेन्ट’ उल्लेख गरिएको भवनको भुइँ तलामा विभागले सेवाग्राहीका लागि प्रतिक्षा कक्ष बनाएको थियो ।
बेसमेन्टमा सेवाग्राहीका लागि प्रतिक्षा कक्ष बनाइएपछि पार्किङ गर्न असहज भएको थियो । सेवाग्राहीले बाटैमा सवारीसाधन पार्किङ गर्ने गरेका थिए । सेवाग्राहीको सवारी साधनले त्यस क्षेत्रको ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको थियो ।
मेयर बालेन शुक्रवार आफै भने राहदानी विभाग गएनन् । महानगरपालिकाको टोली गएर विभागका कर्मचारीहरूलाई बेसमेन्ट खाली गराई पार्किङ राख्न भनेपछि त्यहाँ रहेको सबै कुर्सीहरू हटाइएको हो । विभागले बेसमेन्टमा पार्किङ राख्ने प्रतिबद्धता जनाएको महानगरपालिकाको टोलीले जानकारी दिएको छ ।
मेयर बालेन आफैं फिल्डमा खटिएर काठमाडौं महानगरपालिका भित्रका अवैध संरचना तथा स्वीकृत प्रयोजनविपरीत प्रयोग गरिएका संरचनाहरू खाली गराइरहेका छन् । बालेनले नयाँबानेश्वर, न्युरोड, कोटेश्वरलगायत क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाएका छन् । उनले महानगरपालिकाको सबै वडामा निर्माण गरिएका अवैध संरचना र प्रयोजनविपरीत प्रयोग गरिएका संरचना खाली गराउने बताएका छन् ।









