
नेपालकै पहिलो मुख्यमन्त्रीको रूपमा बागमती प्रदेशमा शपथ ग्रहण गरेका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले आगामी प्रतिनिधि तथा प्रदेशसभामा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । नेकपा एमालेका नेतासमेत रहेको पौडेलले अबको पुस्ताले नयाँ अनुहार खोजेको भन्दै आफूले नाति पुस्तालाई समर्थन गर्ने उद्घोष गरेका हुन् ।
सामजिक सञ्जाल मार्फत उनले अब हुने कुनै प्रकारको निर्वाचनमा आफूले भाग नलिने घोषणा गरे । उनले लेखेका छन् ‘अहिले देशले साच्चै नै परिवर्तन खोजेको छ । परिवर्तनका लागि सारा देश जागेको बेला परिवर्तनको सम्वाहक नेकपा (एमाले) लाई चौतर्फी घेराबन्दी गरी नामेट बनाउने प्रयासमा देशी तथा विदेशी शक्तिहरू एकजुट भएर लागि परेका छन् । यस्तो बेला आगामी निर्वाचनमा कस्ता खालका ब्यक्तिहरूलाई जिताएर पठाउने भन्ने नेपाली जनताको हातमा छ ।’
उनी अगाडि लेख्छन्, ‘सञ्चार माध्यमहरू तथा सामाजिक सञ्जालहरुमा आगामी निर्वाचनका सम्भावित उमेदवारहरूका बारेमा चर्चा परिचर्चा पनि शुरु भइसकेको छ । त्यही क्रममा मेरो नाम जोडेर पनि केही चर्चा हुने गरेको छ । राजनीति लहड, रहर र दबाब मात्रैले पक्कै चल्दैन । आवश्यकताको वस्तुपरक मूल्यांकनले निर्धारण गरेका कडिहरूका आधारमा उम्मेदवार चयन गर्न चुकियो भने परिणाम अनपेक्षित हुनसक्छ भन्ने कुराको हेक्का मेरो ५०औँ वर्षको राजनीतिक अनुभवले बताउँछ ।’
उनले अहिलेको समाजले नयाँ अनुहार खोजेको बताएका छन् । ‘अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ अनुहार खोजेको यथार्थलाई हामीले अनदेखा वा नजरअन्दाज गर्न मिल्दैन । त्यसैले आगामी निर्वाचनमा मेरो उम्मेदवारी हुनुपर्छ भन्ने तमाम मेरो शुभचिन्तक, नागरिक समाज, युवा विद्यार्थी तथा पत्रकारहरू प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी निर्वाचनमा मेरो कुनै पनि क्षेत्रबाट उम्मेदवारी नरहने जानकारी गराउँदछु’, उनले लेखेका छन्, ‘यो पटक जनचाहना अनुसार नयाँ पुस्तालाई मेरो समर्थन र सहयोग रहने छ । दोस्रो पुस्ता मात्रै हैन अहिले नाति पुस्तासमेत देशको नेतृत्व हाँक्न तयार र सक्षम भएर बसेका छन् । अबको मेरो जिम्मेवारी नेकपा एमालेको उम्मेदवारहरूलाई विजयी गराउने हुनेछ ।’