शुक्रवारदेखि हलमा आशा गरिएका दुई नेपाली फिल्महरू ‘प्रकाश’र ‘राधा’प्रदर्शनमा आएका छन् । मौलिक कथामा निर्माण भएका यी फिल्मलाई विशेषगरी मल्टिप्लेक्स हलमा न्यून शो दिइएको छ । शुक्रवारबाटै प्रदर्शन भएको बलिउड फिल्म ‘लाइगर’लाई भने उच्च शो दिइएको छ ।
सोही विषयलाई लिएर प्रदर्शनमा विभेद गरिएको भन्दै फिल्म ‘प्रकाश’ टिमले प्रदर्शकप्रति असन्तुष्टि व्यक्त गरेको छ । शुक्रवार दिउँसो रिपोटर्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गर्दै अभिनेता प्रदीप खड्का, लेखक विकास सुवेदी, निर्माता महेन्द्र अधिकारीले आफ्नो फिल्मलाई विभेद गरिएको भन्दै आपत्ति जनाएका हुन् ।
‘आउटलुक हाम्रो फिल्म मास अपिलिङ लाग्दैन होला । तर, ‘प्रकाश’ झुरै हो, नेपाली फिल्म क्षेत्रका लागि कलंकै हो भनेर पनि त कसैले भन्न त सक्दैन नी,’ पत्रकार सम्मेलनमा अभिनेता प्रदीपले भने, ‘उहाँहरूले फिल्म हेर्नुभएको छैन । दर्शकहरूले फिल्म हेरेर राम्रो प्रतिक्रिया दिइरहनु भएको छ ।’
प्रदीपले अरु चलचित्रलाई साँझको समयमा पनि मिलाएर शो रहेको बताउँदै प्रकाशको भने ३ बजेपछि शो नै नरहेको बताए । प्रदीपले अगाडि भने, ‘३ बजेपछि फिल्मको शो नै छैन । ललितपुर हो मेरो घर । मेरो परिवारका सदस्यले फिल्म हेर्नु भन्दा कि प्लेन चढाएर विर्तामोड पठाउनुपर्ने भयो, कि ट्याक्सी रिजर्भ गरेर अरु ठाउँमा पठाउनुपर्यो । यो त ठूलो अन्याय हो नी ।’
जुम्लाको समस्या, परिवेश, रहनसहनलाई चलचित्रमा उतारेको भएपनि धनगढीमा समेत फिल्मको शो नभएको भन्दै आक्रोशित सुनिए । उनले जुम्लाको परिवेश, कर्णाली प्रदेशबारे काठमाडौंलाई थाहा हुनुपर्छ भन्ने उद्धेश्यले फिल्म निर्माण गरेको भए पनि फिल्मले काठमाडौंमै राम्रो शो नपाएको गुनासो गरे ।
‘अब फिल्म देखाउने कहाँ त ?’ प्रदीपले भने, ‘हल त बनाउन सकिँदैन । चोकचोकमा प्रोजेक्टर लगाएर भए पनि फिल्म चाहिँ देखाउनु पर्ने भएको छ ।’ उनले आफूहरूलाई पैसा कमाउनुभन्दा पनि केही फिल्ममार्फत केही भन्नु उद्धेश्य रहेको बताए । उनले उद्घोष गरे, ‘हामीलाई पैसा कमाउने उद्धेश्य होइन । अब शो नपाए चोकचोकमा प्रोजेक्टर लगाएर फिल्म लगाउने हो ।’
नेपाली र विदेशी फिल्मलाई समान रूपले प्रदर्शन गर्नुपर्ने तर्क प्रदीपको थियो । ‘फिल्म चलेन भने अर्को फिल्मलाई शो दिनुपर्छ, उहाँहरूको पनि व्यवसाय हो । तर, अर्को फिल्मको बुकिङ र रेस्पोन्स कस्तो छ अनि हाम्रो फिल्मको प्रिमियरपछि रिभ्यू कस्तो छ, मूल्यांकन नै नगर्ने ? कहीँ न कहीँ नियतमा खोट देखिरहेको छु’, प्रदीपको भनाइ थियो ।
उनले दुःख गरेर सबैको सल्लामा प्रकाशमा अभिनय गरेको बताउँदै अहिले फिल्मले राम्रो शो नपाउँदा अपमानको महसुस भएको उनको धारणा थियो । लेखक विकास सुवेदी, महेन्द्र अधिकारीले पनि शो बाँडफाँडमा हल सञ्चालकले विभेद गरेको गुनासो पोखे । गुनासोपछि क्यूएफएक्सले ‘प्रकाश’को शोमा केही वृद्धि गरेको छ ।