
भारतीय जनता पार्टीकी नेत्री सोनाली फोगाटको हत्यामा संलग्न भएको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । फोगाटको शव परीक्षण (फोष्टमोर्टम)का क्रममा उनको शरीरमा ‘कैयौँ चोट’ भेटिएको रिपोर्ट अस्पतालले दिएको छ ।
फोगाट भूतपूर्व ‘टिकटक स्टार’ पनि थिइन् । उत्तर भारतस्थित हरियाणा राज्यकी उनी भारतीय जनता पार्टीको तर्फबाट सन् २०१९ को राज्य बिधानसभामा पराजित उम्मेदवार थिइन् ।
प्रहरीका अनुसार सन्दिग्ध ती दुबै जनालाई बिहीवार साँझ पक्राउ गरिएको छ ।
पारिवारिक स्रोतका अनुसार सीसीटीभीद्वारा खिचेको दृष्यमा उनलाई सँगै रहेका दुईमध्ये एक जनाले जवर्जस्ती कुनै नशालु पदार्थ सेवन गराएको देखिएको छ ।
पश्चिमी राज्य गोवा भ्रमणका बेला यही अगस्ट २२ गते मृत्यु भएकी फोगाट ४२ वर्षकी थिइन् । प्रारम्भिक रिपोर्टहरूमा उनको हृदयाघातका कारण निधन भएको बताइएको थियो ।
तर उनको परिवारले उक्त दाबीलाई अस्वीकार गर्दै फोगाट कै सहयोगीहरूले हत्या गरेको आरोप लगाएका थिए ।