१३ असार २०८३, शनिबार

दूध र मासुमा कञ्चनपुर आत्मनिर्भर

भदौ ११, २०७९
दूध र मासुमा कञ्चनपुर आत्मनिर्भर
प्रतिकात्मक तस्वीर

कञ्चनपुर जिल्ला दूध र मासुमा आत्मनिर्भर बन्दै गएको छ । 

पछिल्लो समय जिल्लामा उन्नत नश्लका गाई र भैंसीको व्यावसायिक पालन हुन थालेपछि कञ्चनपुर आत्मनिर्भर हुँदै गएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरको तथ्यांकअनुसार दूध र मासु अन्य जिल्लामा निर्यात हुन थालेको छ ।  

कञ्चनपुरमा ७ हजार २४५ मेट्रिक टन मासुको माग रहेकोमा ७ हजार ३८८ मेट्रिक टन मासु उत्पादन हुने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका पशु चिकित्सक खडकबहादुर पाण्डेयले बताए । उनका अनुसार १४३ मेट्रिक टन मासु सुदूरपश्चिमका पहाडी जिल्लामा निर्यात हुने गरेको छ । 

कञ्चनपुरमा ४७ हजार १०५ मेट्रिक टन दूधको माग भएकोमा ७० हजार ७६० मेट्रिकटन दूध उत्पादन हुने गरेको छ । २३ हजार ६५५ मेट्रिक टन दूध कैलाली र भारतमा निर्यात हुने गरेको छ ।

‘कञ्चनपुर दूध र मासु आत्मनिर्भर भइसकेको छ,’ पशु चिकित्सक पाण्डेयले भने, ‘दोधाराचाँदनीको उत्पादन भारत जाने गरेको छ भने अन्य ठाउँको कैलाली जिल्ला जाने गरेको छ ।’ 

उनका अनुसार पछिल्लो समय किसानले व्यावसायिक रूपमा पशुपालन गर्न थालेपछि जिल्लामा दूध उत्पादन बढेको छ ।

‘सरकारबाट पनि किसानले अनुदान पाउन थाले र व्यावसायिक रूपमा लागे,’ उनले भने, ‘अहिले किसानले घास खेती गर्न थालेका छन्, यसकारण पनि दूध उत्पादन बढेको हो ।’ दोधाराचाँदनी भारतीय बजार नजिक भएकाले यहाँको दूध भारत जाने गरेको छ भने अन्य ठाउँको दूध कैलालीको डीडीसीले खरिद गर्ने गरेको उनले जानकारी दिए ।

माछा र अण्डा भने केही मात्रामा अन्य जिल्लाबाट ल्याउनुपरेको छ । ५ हजार १७६ मेट्रिक टन माछाको माग रहेकोमा जिल्लामा १ हजार ५७५ मेट्रिक टन मात्रै यहाँ उत्पादन हुने गरेको छ । कञ्चनपुरमा २४ हजार ८४६ मेट्रिक टन अण्डा खपत हुने गरेको तर जिल्लामा २० हजार मेट्रिक टन अण्डा मात्रै उत्पादन हुने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले जनाएको छ ।

श्री उन्नत भैंसीपालन ब्लक समन्वय समिति दोधाराचाँदनीका संयोजक लालबहादुर पुनले दोधाराचाँदनीको दूध भारत र महेन्द्रनगर बजारमा बिक्री हुने गरेको जानकारी दिए । ‘भारतका व्यापारी दूध खरिदका लागि यही आउने गरेका छन केहीले महेन्द्रनगर बजारका डेरीमा लग्ने गरेका छन्,’ उनले भने, ‘गाईभैंसीपालनबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसान समूह बनाएर व्यावसायिक रूपमा लागेका छन् ।’– महादेव अवस्थी/रासस

salt training

कमेन्ट गर्नुहोस्