
हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर र त्यस परिसरको तस्वीर खिचेमा नगद जरिवाना गरिने भएको छ ।
पशुपतिनाथको मूल मन्दिरभित्र तस्वीर खिच्न मनाही गरिँदै आएको छ ।
पछिल्लो समय सबैका हातमा मोबाइल हुने भएकाले तस्वीर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिवानासहित कारबाही गर्न लागिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिए ।
सनातनदेखि तस्वीर खिच्न मनाही गरिएको स्थानको तस्वीर खिची सामाजिक सञ्जालमा राख्ने, टिकटक बनाउने गर्ने क्रम बढ्न थालेपछि कोषले यस्तो तयारी गरेको हो । गर्भगृहको तस्वीर खिचेमा २ हजार १००, मुख्य मन्दिरको तस्वीर खिचेमा १ हजार १०० र मूल मन्दिर परिसरको तस्वीर खिचेमा ५०० रुपैयाँ जरिवाना गर्न लागिएको हो ।
पशुपतिनाथ मूल मन्दिर क्षेत्रमा मोबाइलले तस्वीर खिचे नखिचेको अनुगमन गर्न कोषका कर्मचारी समूहले सूक्ष्म अनुगमन गर्न लागेको जानकारी समेत उनले दिए ।
कोषले तीजका दिन भदौ १४ गते बिहान ६ बजेपछि पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिने भएको छ । पशुपतिनाथका नित्य दर्शनार्थीलाई त्यसअघि नै दर्शन गरेर फर्कन पनि कोषले आह्वान गरेको छ ।