
दिवंगत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न शनिवार बिहानैदेखि काठमाडौंको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा भक्तजनको भीड लागेको छ ।
भाद्रकृष्ण औंसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदादान र पिण्डदान गर्नाले २१ पुस्ता अघिदेखिका पितृहरू तर्दछन् भन्ने धार्मिक विश्वास रही आएको छ ।
धार्मिक विश्वासका कारण शनिवार बिहानैदेखि वैदिक सनातन हिन्दु धर्मावलम्बी र बौद्ध धर्मावलम्बीको समेत गोकर्णेश्वर मन्दिर परिसरमा भीड लागेको छ । गोकर्णमा भक्तजनको भीडका कारण शनिवार बिहानैदेखि सुन्दरीजल –जोरपाटी र बागमतीको कोरिडोर भएर गुड्ने सवारीसाधन निषेध गरिएको ट्राफिक प्रहरी वृत्त बौद्धले जनाएको छ ।
सत्ययुगमा ब्रह्माले नै स्थापना गरेकाले यस ठाउँमा आई पितृलाई तर्पण, सिदादान र पिण्डदान गर्नाले अगति परेका पितृ पनि तर्दछन् भन्ने धार्मिक विश्वासका कारण पनि भाद्र कृष्ण औंसीका दिनमा यस मन्दिरमा भक्तजनको भीड बढ्ने गरेको मन्दिरका पूजारी जगदीश भट्टले जानकारी दिए ।
गोकर्णेश्वरमा आएका भक्तजन भने धार्मिकरूपमा धेरै महत्त्व भए पनि गोकर्णेश्वरमा राम्रो व्यवस्थापन हुन नसक्दा दुःख पाएकोे बताउँछन् । पाल्पाबाट आएका दर्शनार्थी उमेश रेग्मी गाडीको असुविधाले मेलामा दुःख पाइएको बताउँछन् ।
‘मन्दिर आसपासमा साँघुरो बाटो भएकाले गाडी चल्न नसकेको रहस्य मैले मन्दिरमै आएर थाहा पाएँ,’ उनले भने ।
मन्दिर क्षेत्रमा सार्वजनिक जग्गामा घर बनाई बाटो साँघुरो भएकोले जोरपाटीदेखि हिँड्नुपर्दा समस्या भएको पनि उनले गुनासो गरे । शास्त्रीय रूपमा महत्त्व रहेको पवित्र तीर्थस्थलको सुव्यवस्थापनमा ३ तहका सरकारमध्ये कसैको पनि ध्यान नगएको यहाँ आएपछि थाहा पाएको धेरै भक्तजन बताउँछन् ।
यस क्षेत्रमा वैदिक सनातन हिन्दु धर्मावलम्बी मात्र होइन, बिहानैदेखि बौद्ध धर्मावलम्बीको पनि भीड लागेको छ । १ वर्षभित्र पिताको दिवंगत भएका बौद्धमार्गी यहाँ आएर श्राद्ध र पूजाआजा गरी भोज खाने प्रचलन रहेको बौद्धधर्म गुरु पासाङ लामाले बताए ।
बौद्धमार्गीले आजको दिनमा गोकर्णमा आई दर्शन गरेमा दिवंगत पिताको स्वरुप दर्शन गर्न पाइने विश्वास समेत गर्ने गरेको पनि उनले जानकारी दिए । गोकर्णमा मेला लाग्ने भएकाले आजको औंसीलाई गोकर्णे औंसी पनि भनिन्छ ।
पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बाल यन्त्रको पूजा आराधना हुने भएकाले पशुपतिनाथ दर्शन गर्नेले गोकर्णेश्वर महादेवको पनि दर्शन गर्नुपर्ने मान्यता रही आएको छ ।
आजैको दिन हिन्दू धर्मावलम्बीले वर्षभरि घरमा धार्मिक कृत्य गर्नका लागि आवश्यक कुश भित्र्याई कुशे औंसी पर्व मनाउँछन् । कुशलाई भगवान् विष्णुको स्वरूप मानिन्छ । त्यसैगरी आफ्ना बाबुलाई मीठो–मीठो खान दिई बुवाको मुख हेर्ने पर्व पनि मनाइँदैछ ।