
यो साता कोभिड–१९ संक्रमण क्रमशः घट्दो क्रममा रहेको तथ्यांकले देखाएको छ ।
यो महिनामा सबैभन्दा बढी संक्रमण भदौ १ गते देखिएको थियो । त्यसदिन आठ सय ५२ संक्रमित भेटिएका थिए । त्यसपछिका दिनमा क्रमशः घट्दै गएकामा भदौ ६ गते एक्कासी बढेर छ सय ५८ संक्रमित फेला परेका थिए । भदौ ७ गतेपछि भने संक्रमण पुनः घट्दो क्रममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सार्वजनिक विवरणमा उल्लेख छ ।
प्राप्त विवरणअनुसार भदौ ७ गते छ सय ३४, ८ गते चार सय ८७, ९ गते चार सय ४४ र १० गते तीन सय २४ मा संक्रमण देखिएकोमा शनिवार संक्रमण घटेर एक सय ७३ मा झरेको छ ।
पछिल्लो २४ घण्टामा निको भएर घर गएका बिरामीको संख्या तीन सय ९६ रहेको छ । मन्त्रालयका अनुसार शनिवार ४७ हजार एक सय ५२ ले खोप लगाएका छन् । शनिवार कोरोना संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या तीन हजार छ सय १२ रहेको छ ।
निको हुने दर ९८ दशमलव चार प्रतिशत रहेको छ । हालसम्म ११ हजार नौ सय ९९ को मृत्यु भएको छ । अहिलेसम्म पीसीआर परीक्षणमा नौ लाख ९६ हजार छ सय ७० र एन्टीजेन परीक्षणमा एक लाख ५० हजार तीन सय ३२ मा संक्रमण पुष्टि भएको छ । रासस