
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नागरिकता विधेयक पारित गरेर छाड्ने दावी गरेका छन् । जनता समाजवादी पार्टी नेपाल सप्तरीद्वारा राजविराजमा आज आयोजित कार्यक्रममा उनले हरेक नेपाली नागरिकले नागरिकता पाउनुपर्छ भनेर निरन्तर सङ्घर्षमा रहेको बताए । उनले सरकार र सदनबाट नभए सडक सङ्घर्ष गरेर भए पनि नागरिकता विधेयक पारित गरिने जिकीर गरे ।
उत्पीडित जाति समुदायको अधिकार सुनिश्चितताका लागि निरन्तर सङ्घर्ष जारी रहेको बताउँदै उनले सदियौँदेखिको उत्पीडित जाति समुदायले समान अधिकार प्राप्त नगरेसम्म देशमा समृद्धि नआउने बताए । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले देशमा चाँडै मलखादको समस्या समाधान हुने आश्वासन दिए । यादवले पहिचान, प्रतिनिधित्व, सामावेशीता र अधिकारका लागि उत्पीडित समुदाय एकताबद्ध हुनुपर्नेमा जोड दिए ।
मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले पार्टी अध्यक्ष उपेन्द्र यादवको दूरदर्शी नेतृत्वले सप्तरीमा विकासले गति लिएको बताए ।