नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गठबन्धन गर्दा जितेको ठाउँमा कांग्रेसले छाड्न नहुने बताएका छन् । कांग्रेस क्षेत्रीय समिति मोरङ ६ ले आइतवार विराटनगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले कुनै पनि क्षेत्रमा कांग्रेस नछुट्ने गरी गठबन्धन हुनुपर्नेमा आफूले जोड दिएको बताए । उनले १ सय सिटभन्दा कम गरेर कांग्रेसले गठबन्धन गर्न नसक्ने प्रष्ट पारे ।
स्थानीय तहमा भएको गठबन्धनले परिणाम राम्रो आए पनि अहिले १ सय सिट भन्दा कममा गठबन्धन गर्न नसकिने उनको अडान छ । ‘गठबन्धनको मर्म भनेको एमालेले गरेको असंवैधानिक कदम रोक्ने मात्रै हो’, नेता कोइरालाले भने, ‘गठबन्धन गर्दा कुनै पनि क्षेत्रमा कांग्रेस नछुट्ने गरी गठबन्धन गर्न पनि जोड दिनुपर्छ ।’
एक सय सिटभन्दा कम लिएर कांग्रेसले गठबन्धन गर्यो भने कांग्रेसभित्र विद्रोह हुने उनले चेतावनी दिए । ‘एक सय सिटभन्दा कम लिएर कांग्रेसले गठबन्धन गर्यो भने कांग्रेसभित्र विद्रोह हुन्छ’, उनले भने, ‘सबैलाई समेट्ने गरी गठबन्धन गर्नुपर्छ । कांग्रेसलाई बलियो बनाउन सबै क्षेत्रमा कांग्रेसको उम्मेदवार हुनुपर्छ ।’
पार्टीभित्र बेथिति थपिँदै गएको समेत उनले बताए । बेथिति अन्त्य गर्न अहिलेको नेतृत्वले ध्यान नदिएको समेत नेता कोइरालाले बताए । राजनीतिक सिद्धान्त र विचार नेतृत्वले बिर्सेको समेत उनले आरोप लगाए । ‘कार्यकर्ताले सुशासन र पारदर्शिता खोजेका छन्’, उनले भने, ‘तर नेतृत्व त्यहि बिर्सँदै गइरहेको छ ।’