बेलायतमा बिजुलीको भाउ ह्वात्तै बढेपछि आत्तिएका विद्यालय सञ्चालकहरूले गरीब विद्यार्थीलाई जाडोमा न्यानो राख्नका लागि स्विटर किन्ने सोच बनाएका छन् ।
रुस–युक्रेन द्वन्द्वका कारण युरोपमा ऊर्जाको मूल्य आकासिएकाले धेरै देशहरू तनावमा छन् ।
बेलायतको अर्थ मन्त्रालयले आर्थिक कठिनाइको सामना गरिरहेका परिवारलाई सहज जीवनयापनका लागि प्रस्ताव बनाउने क्रममा स्विटरको पनि कुरा उठेको हो ।
विद्यालय संगठनका प्रमुख स्टिभ चकले बिजुलीको महसुल आकासिएर बजेट सकिन थालेकाले आकस्मिक उपायहरू अपनाइन थालेको बताए । ‘जे भए पनि हामीले विद्यालयमा न्यानोको व्यवस्था गर्नुपर्छ,’ उनले बताए, ‘विद्यार्थीहरूलाई जाडोमा जम्न दिन मिल्दैन ।’
उनले थपे, ‘विद्यालयहरूले विद्यार्थीहरूलाई स्विटर लगाएर आउन भन्नुपर्छ । तर हामीकहाँ गरीब विद्यार्थी पनि पढ्छन् । तिनलाई हामीले नै स्विटर दिनुपर्छ ।’
विद्यार्थीहरूलाई खाजा पनि विद्यालयले नै खुवाउनुपर्ने स्थिति आउन सक्ने उनको अनुमान छ । अहिले अर्थतन्त्र कमजोर भएकाले जीवनयापन खर्च निकै बढेकाले सामान्य परिवारलाइै धौधौ परेको छ ।
पीडामा रहेका परिवारले ऊर्जाको उपयोग घटाइरहेका छन् । जाडो महिनामा ऊर्जा खर्च ह्वात्तै बढ्ने भएको छ ।