अमेरिकाका दुई युद्धपोत आइतवार ताइवान जलसन्धि हुँदै गएका छन् ।
अमेरिकी संसद्की सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमण गरेपछि बढेको तनावका बीच अमेरिकाले युद्धपोत पठाएको हो । पलोसी भ्रमणलगत्तै चीनले ताइवान नजिक व्यापक सैन्य अभ्यास गरेको थियो ।
हालैका वर्षमा अमेरिका र पश्चिमी मुलुकका जलसेनाले ताइवान जलसन्धिमा निरन्तर अभ्यास गर्दै आएका छन् । बेइजिङले यी कारवाहीहरू उत्तेजनात्मक भएको बताएको छ । ताइवानलाई चीनले आफ्नै भूभाग मान्ने गरेको छ ।
आइतवार ताइवान जलसन्धिमा अमेरिकाका दुई गाइडेड मिसाइल क्रुजर यूएसएस एन्टियेटम र यूएसएस चांसलर्सविले पुगेका थिए । त्यहाँ आफूहरूले जलआवागमन स्वतन्त्रताको प्रदर्शन गरेको अमेरिकीहरू बताउँछन् ।
युद्धपोत पठाउने तथा अमेरिकी अधिकारीहरू एकपछि अर्कोगरी ताइवान पुग्ने क्रम बढेपछि चीन र अमेरिकाबीच तनाव उच्च छ ।
अमेरिकी युद्धपोत ताइवान जलसन्धिमा पुगेपछि ग्लोबल टाइम्सका पूर्वसम्पादक हु सिजिङले अमेरिका चीनको मित्रराष्ट्र भएको सबै भ्रम तोडिएको बताए । चीनको उदयलाई रोक्ने बाह्य शक्तिहरूलाई परास्त गर्नका लागि ताइवानको विवाद चाँडो समाधान गर्नुपर्ने उनको भनाइ छ ।