
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फेरि एक पटक मुलुकलाई एमालेको बहुमत आवश्यक भएको बताएका छन् । केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले एमालेको बहुमतको सरकार देशलाई आवश्यक रहेको बताए ।
ओलीले आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउने संकल्प र दृढ आत्मविश्वासका साथ अघि बढन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे । उनले आफ्नो पार्टी ‘आगामी सरकार एमालेको’ भन्ने मूल नाराका साथ आगामी निर्वाचनमा अघि बढ्ने पनि स्पष्ट पारे । ‘हिजो केन्द्रीय कमिटी बैठकले निर्वाचनका सम्बन्धमा जे निर्णयहरू गरेको छ । त्यसैलाई झण्डा बनाएर केन्द्रीय निर्वाचन परिचालन कमिटी अघि बढ्नेछ । एमालेको बहुमतको सरकार देशलाई आवश्यक छ । त्यसकारण आगामी सरकार एमालेको । यही नारा लिएर हामी अगाडि बढ्छौँ’, उनले भने ।
अध्यक्ष ओलीले केन्द्रीय निर्वाचन परिचालन कमिटीका सदस्यहरूलाई कमिटीका सचिवको जानकारीमा रही निर्वाचनको तयारीको काममा केन्द्रित हुन पनि निर्देशन दिए । एमालेले अध्यक्ष ओलीको नेतृत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी र ३४ सदस्यीय सचिवालय गठन गरेको छ ।