२६ असार २०८३, शुक्रबार

नेपाली चलचित्र अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन पहल गर्छुः भुवन केसी

नेपाली चलचित्र अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन पहल गर्छुः भुवन केसी

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्र अन्तर्राष्ट्रियस्तरमा नपुगेसम्म नेपालको कला र संस्कृतिको विकास गर्न नसकिने बताएका छन् । आइतवार चलचित्र विकास बोर्डले नेपाली चलचित्र प्रेमगीत–३ लाई बधाई एवं शुभकामना दिन आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

 अध्यक्ष केसीले नेपाल चलचित्र विकास बोर्डले चलचित्रलाई विश्वव्यापी रुपमा प्रदर्शनमा ल्याउन गर्नसक्ने जति काम गर्ने प्रतिवद्धता जनाए । उनले नेपाली भाषी चलचित्रलाई नेपाली सिनेहलमा पहिलो प्राथमिकतामा राखेको पनि बताए । उनले नेपाली चलचित्रका निर्माताहरुले जबसम्म आफ्नो लगानी सुरक्षित गर्न सक्दैनन् तबसम्म नेपाली चलचित्र सुरक्षित नहुने दाबी गरे । 

 अध्यक्ष केसीले चलचित्रको व्यवस्थीकरणका लागि नीति निर्माणका क्षेत्रमा काम थालेको र चाँडै नीति बनिसक्ने दाबी गरे । उनले चलचित्र व्यवस्थापनका लागि नीति बनाइसकेपछि चलचित्रकर्मीलाई नेपाली सिनेमाप्रति आत्मविश्वास बढ्ने बताए । 

अध्यक्ष केसीले नेपाली सिनेमालाई राम्रो बनाउनको लागि आफूले मुम्बईको गल्लीमा पसिना बगाएको स्मरण गरे । उनले प्रेमगीत विश्वभर चल्ने खबरले फिल्मकर्मीको लागि चाड भन्दा पनि ठूलो भएको बताए । 
कार्यक्रममा वरिष्ठ कलाकार सुनिल थापाले धेरै निर्माताहरुको फिल्म अब अन्तर्राष्ट्रिय स्तरको बन्ने बताए । कार्यक्रममा वरिष्ठ अभिनेता शिव श्रेष्ठले राष्ट्रलाई चिनाउने चलचित्रलाई राष्ट्रले पनि केही सहयोग गर्नुपर्ने बताए । 

नेपाली चलचित्र प्रेमगीत ३ आगामी असोज ७ गते नेपाल र भारतमा एकसाथ प्रदर्शनी हुँदैछ । साथै चीनमा पनि फिल्म प्रदर्शन हुने निर्माण पक्षले बताएको छ । चलचित्रमा अभिनेता प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, लक्ष्मी बर्देवा लगायतका वरिष्ठ कलाकारहरुको मुख्य अभिनय छ । 
 

salt training

कमेन्ट गर्नुहोस्