गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तनहुँबाट खेलाडी छनोट भएका छन् ।
जिल्ला खेलकुद विकास समितिले जिल्लाका विभिन्न ठाउँमा प्रतियोगिता सञ्चालन गरी खेलाडी छनोट गरेको हो ।
पूर्वाधार अभावकै बीचमा खेलकुद विकास समिति खेलाडी छनोट गर्न बाध्य छ । खेलकुद पूर्वाधार निर्माणका लागि राज्यको कम चासो हुँदा खेलकुदका गतिविधि सञ्चालन गर्न समस्या हुने गरेको समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए ।
‘खेलकुद सञ्चालनका लागि पूर्वाधार छैन, भित्र खेलाइने खेलका लागि कभर्डहल छैन, भलिबल कोर्ट छैन,’ उनले भने, ‘जसोतसो व्यवस्थापन गरेर खेल सञ्चालन गरी खेलाडी छनोट गरेका छौं ।’ नवौं राष्ट्रिय खेलकुदमा खेलाडी छनोटका लागि टेबलटेनिस घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा रहेको कोर्टमा खेलाइएको छ । भलिबल खुलाचौरस्थित खेलमैदानमा खेलाइएको छ । कराँते निर्माणाधीन कभर्डहलमा खेलाइएको छ ।
बास्केटबल व्यास नगरपालिका–१ स्थित निर्मल माविमा रहेको कोर्टमा खेलाइएको छ । बास्केटबल कोर्ट भने राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा निर्माण गरिएको छ । यहाँ मापदण्ड अनुसारका २ बास्केटबल कोर्ट निर्माण गरिएको छ । ‘नवौं राष्ट्रिय खेलकुदका लागि तनहुँमा खेल खेलाउँछौं भन्दा पूर्वाधार अभावले नसकिने अवस्था रहेको छ,’ उनले भने, ‘तनहुँमा पनि खेल खेलाउने इच्छा हो तर पूर्वाधार नै छैन । मापदण्ड अनुसारको कोर्ट भएकाले बास्केटबल खेल खेलाउन सकिन्छ ।’
तनहुँमा महिला बास्केटबल खेलाउने तयारी छ । महिला बास्केटबलका लागि खेलाडी र अफिसियलसहित ३०० जना दमौली आउनेछन् । ‘होटलको अभावका कारण महिला बास्केटबलका लागि मात्रै व्यवस्थापन गर्न सकिने भइयो,’ उनले भने ।
खेल सञ्चालनका लागि खेलकुदका सामग्री पनि अभाव रहेको कराँते महासंघ तनहुँका अध्यक्ष मनिराज थापामगरले बताए । कराँतेका लागि खेलाडी छनोट गर्न जिल्लामा म्याट नरहेकाले लमजुङबाट मगाइएको उनले बताए ।
बजेट अभावका कारण खेलकुद विकास समितिलाई कार्यालय भाडा तिर्न पनि समस्या हुँदै आएको छ । ‘५/६ महिनाको भाडा रकम नभएर व्यक्तिगत रूपमा उठाएर तिर्नुपर्ने अवस्था पनि आयो,’ पाण्डेले भने । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुनु गौरवको कुरा भएको र तनहुँको दमौलीमा पनि खेल सञ्चालन गर्दा व्यास नगरपालिकाको तर्फबाट हुनसक्ने सहयोग गर्न आफूहरू तयार रहेको नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताए । ‘नगरपालिकाका पनि सीमित स्रोत छन्, प्रतियोगिता सम्पन्न गराउनु सबैको दायित्व र कर्तव्य हो,’ उनले भने ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि क्रिकेट, ब्याडमिन्टन, बास्केटबल, उसु, बक्सिङ, फुटबल, भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, टेबलटेनिस, बुद्धिचाल, कराँते, आईटीएम तेक्वान्दो, फूल कन्ट्याक्ट कराँतेबाट प्रतियोगिता सञ्चालन गरी खेलाडी छनोट गरिएको छ ।
करीब ४ दशकपछि गण्डकी प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्ने अवसर प्राप्त गरेको छ । विक्रम संवत् २०४० सालमा दोस्रो संस्करणको आयोजनापछि पोखरालाई नवौं संस्करण आयोजनाको मौका मिलेको हो ।
राष्ट्रिय खेलकुदमा २ प्रदर्शनसहित ३८ खेल सञ्चालन हुनेछन् । अधिकांश खेल पोखरामा र केही खेल पोखरा बाहिर गर्ने तयारी छ । प्रदेशका ११ वटै जिल्लामा कम्तीमा १ खेल सञ्चालन गर्ने योजना बनाइएको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तनहुँबाट २२१ खेलाडी छनोट भएका छन् । ३ दिनसम्म सञ्चालन भएको प्रतियोगिताबाट २२१ खेलाडी छनोट भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
फूटबलतर्फ १४ पुरुष र १४ महिना गरी २८, भलिबलतर्फ ९ पुरुष र ९ महिला गरी १८, क्रिकेटतर्फ १४, बास्केटबलतर्फ ९, टेबलटेनिसतर्फ ५, ब्याडमिन्टनतर्फ ७ पुरुष र ५ महिला गरी १२, एथलेटिक्सतर्फ ९ पुरुष र ९ महिला गरी १८, बुद्धिचालतर्फ ३, कराँतेतर्फ २९, कबड्डीतर्फ १० पुरुष र १० महिला गरी २०, आईटीएम तेक्वान्दोतर्फ १४ पुरुष र ११ महिला गरी २५, तेक्वान्दोतर्फ ६ पुरुष र ६ महिला गरी १२, फूल कन्ट्याक्ट कराँतेतर्फ ७ पुरुष र ५ महिला गरी १२, उसुतर्फ ६ पुरुष र ६ महिला गरी १२ र बक्सिङतर्फ ४ खेलाडी छनोट भएको खेलकुद विकास समितिले जनाएको छ । जिल्लाबाट छनोट भएका खेलाडीले प्रदेशस्तरमा प्रतिस्पर्धा गर्नेछन् ।