२५ जेठ २०८३, सोमबार
सरसर्ती २४ घण्टा

त्रिविमा असहज अवस्थादेखि वामपन्थी गठबन्धन बनाउने प्रचण्डको चेतावनीसम्म

त्रिविमा असहज अवस्थादेखि वामपन्थी गठबन्धन बनाउने प्रचण्डको चेतावनीसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटाले विश्वविद्यालयमा निरन्तर तालाबन्दी, घेराउ र पदाधिकारी तथा कर्मचारीलाई धम्की दिइएर विश्वविद्यालयको काममा असहज अवस्था सिर्जना भएको बताएका छन् ।
विश्वविद्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उपकुलपति बाँस्कोटाले विद्यार्थी सङ्गठनको नाममा एक समूहले आफ्नो कार्यकाल सुरु भएपछि कूल दुई सय ९२ दिन तालाबन्दी गरेको बताए । त्रिवि परिसरमा सुरक्षाका दृष्टिले असहज परिस्थिति सिर्जना भएका कारण बैठक बस्न नसकेको पनि उनले बताए ।
००००
आइतबार बसेको सत्ता गठबन्धनको कार्यदल बैठक निष्कर्षबिहीन भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको कार्यदल बैठक निष्कर्षविहीन बनेको हो । सिट बाँडफाँडबारे गठबन्धनमा रहेका दलहरु आफ्नो अडानमा कायम भएपछि बैठक निष्कर्षविहीन भएको बताइएको छ ।
कार्यदलमा एक सदस्यका अनुसार यसअघि जस्तै काँग्रेसले प्रतिनिधिसभातर्फ १०० सिट तथा माओवादी केन्द्र ६०, नेकपा एकीकृत समाजवादीले ४० सिट, जसपाले ३२ सिट र जनमोर्चाले २ सिटमा दाबी कायम राखेको छ ।
अब अर्को बैठक कहिले बस्ने भन्ने पनि टुंगो नभएको  कार्यदल सदस्य हिमलाल पुरीले जानकारी दिए ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा सिट बाँडफाँटबारे कांग्रेसले गठबन्धनमा रहेका दलहरूको शक्तिको सही मूल्यांकन नगरे वामपन्थी गठबन्धन बन्ने बताएका छन् । 
आइतवार माओवादी केन्द्रको बागमती प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई ललितपुरको सानेपामा सम्बोधन गर्दै प्रचण्डले कांग्रेसले अपमानपूर्ण व्यवहार गर्ने अवस्था आएमा एमाले बाहेकको वामपन्थी गठबन्धन बन्ने अवस्था आउने बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
००००
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध ३५ बुँदे तथ्यसहितको प्रमाण संसदको महाभियोग सिफारिस समितिलाई बुझाएको छ । बारले प्रतिवादी इच्छाराज तामाङसहितको मुद्दामा अधिवक्ता रुद्र पोखरेलले प्रस्ताव गरेको घुस डिलको अडियोलाई प्रमाणको रूपमा पेश गरेको छ । 
आर्थिक अनियमितता गर्नका लागि जबराले पोखरेलसँग ७६ पटक फोन सम्वाद गरिएको तथ्य पेस गरिएको छ । सर्वोच्च अदालतको भवन निर्माणका लागि जबरा आफैँले हस्ताक्षर गरेर दिएको ठेक्का, राणाकै अगुवाई र नेतृत्वमा अन्य बेन्चहरूलाई ‘बेन्च शपिङ’ गरी चरम आर्थिक अनियमितता गराएको उल्लेख छ ।
००००
नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग गरेको छ । आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग गरेको हो ।
००००
थाइल्याण्डको राजधानी बैंककमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ एसिया क्षेत्रीय बैठक विभिन्न १३ बुँदे घोषणापत्र जारी गर्दै समापन भएको छ । शुक्रबारदेखि शुरु भएको सो सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधिहरू, युरोप, अमेरिका ओसियाना, अफ्रिका तथा मध्यपूर्वका गरी झण्डै ३०० प्रतिनिधिको सहभागिता रहेको थियो ।
००००
केन्याविरुद्धको तेस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नेपाल विजयी भएको छ । केन्याको नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले केन्यालाई चार विकेटले हराएको हो । केन्याले दिएको एक सय ५७ रनको लक्ष्य नेपालले १९ दशमलव तीन ओभरमा छ विकेट गुमाएर एक सय ६० रन बनाएर पूरा ग¥यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रनको योगदान दिए । यस्तै डेब्यु खेलाडी अर्जुन साउदले ३५ रन बनाए ।
००००
सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा नेतृत्वको पार्टीलाई तत्काल तीर चुनाव चिह्न प्रदान गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासलले आज उक्त पार्टीलाई तीर चुनाव चिह्न दिने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
००००
रुकुम पश्चिममा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आमा छोरी रहेको प्रहरीले जनाएको छ ।
पहिरोमा परेर जाजरकोटको भेरी नगरपालिका– १ मैदेकी ३० वर्षीया बालमती राना र उनकी २ वर्षीया प्रतीक्षा रानाको मृत्यु भएको हो । यस्तै बालमतीकी ७ वर्षीया छोरी तिर्सना घाइते भएकी छन्।
००००
काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने भएको छ । आइतवार बसेको नगर कार्यपालिका बैठकमा मेयर बालेन्द्र साहले सबै वडाहरूमा एमडीजीपी डाक्टर र नर्स राख्ने प्रस्ताव गरेका थिए । बैठकले मेयरको प्रस्ताव अनुमोदन गरेको छ । 
काठमाडौं महानगरको ३२ वटै वडामा वडा क्लिनिक सञ्चालनका लागि ३२ जना एमडीजीपी डाक्टर र ३२ जना नर्स करार सेवामा राख्न लागिएको बालेनले बैठकमा बताएका थिए ।
००००
‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ ।
राष्ट्रियसभाको आइतवारको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधनन) विधेयक २०७९’ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकबारे गठबन्धनमा रहेका दलहरुले एमालेविरूद्ध भ्रम फैलाएको आरोप लगाएका छन् । 
एमालेको निर्वाचन परिचालन समितिको बैठकलाई आइतवार सम्बोधन गर्दै जन्मसिद्ध नागरिकले वंशजको नागरिकता पाउनुपर्ने धारणा रहेको ओलीले बताए । एमालेले आइतवार ललितपुरको तुलसीलाल स्मृति प्रतिष्ठानमा निर्वाचन परिचालन समितिको बैठक आयोजना गरेको थियो ।
००००
नेकपा एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीले ३४ सदस्यीय सचिवालय गठन गरेको छ । आइतवार बसेको निर्वाचन परिचालन कमिटीको पहिलो बैठकले सचिवालय गठन गरेको हो । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि एमालेले अध्यक्ष केपी ओलीको नेतृत्वमा ४ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको थियो ।
००००
भारतको उत्तर प्रदेशस्थित नोयडामा अवैध रूपमा बनेको सुपरटेक ट्विन टावर भत्काउन करिब १८ करोड भारतीय रुपैयाँ खर्च भएको छ । सर्वोच्च अदालतको आदेशपछि ३० र ३२ तले दुईवटा भवन ‘ट्विन टावर’ आइतवार भत्काइएको थियो । 
उक्त भवन भत्काउनका लागि ३ हजार ७०० किलोग्राम विष्फोटक पदार्थ प्रयोग गरिएको थियो । उक्त विष्फोटक पदार्थ भवनभरि कुल ९ हजार ६४० वटा दुलो बनाएर भरिएको थियो । उक्त टावर भत्काउन मात्र १७।५५ करोड भारतीय रुपैयाँ खर्च भएको अनुमान गरिएको छ । खर्चको सम्पूर्ण विवरण प्राप्त भइनसके पनि करिब १८ करोड भारतीय रुपैयाँ खर्च हुने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्