१० साउन २०८३, आइतबार
ऐन मिचेर ठेक्का सम्झौता

सेनाले दिएको फास्ट ट्र्याकको ठेक्का खरिद ऐनविपरीत, सम्झौता रद्द गर्नुपर्ने छानबिनको निष्कर्ष

भदौ १३, २०७९
सेनाले दिएको फास्ट ट्र्याकको ठेक्का खरिद ऐनविपरीत, सम्झौता रद्द गर्नुपर्ने छानबिनको निष्कर्ष

काठमाडौैं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)मा नेपाली सेनाले सार्वजनिक खरिद ऐन २०६३ विपरीत ठेक्का लगाएको पाइएको छ ।

विभिन्न प्याकेजमा निर्माण प्रक्रिया अगाडि बढाएको सेनाले ९ फागुन २०७८ मा लगाएको ठेक्का कानूनविपरीत रहेको सरकारी छानबिन समितिले फेला पारेको हो ।

सेनाले लगाएको ठेक्काका विषयमा अनुसन्धान गर्न सरकारले रक्षा मन्त्रालयका सहसचिव बाबुराम अधिकारीको संयोजकत्वमा छानबिन समिति बनाएको  थियो । 

उक्त समितिले १५ वैशाखमै सरकारलाई बुझाएको प्रतिवेदनमा नेपाली सेनाले द्रुतमार्गको ४ र ५ नम्बरको ठेक्का कानूनले तोकेको शर्तविपरीत लगाएको निष्कर्ष समावेश छ ।

नेपाली सेनाले द्रुतमार्गमा काम गरिरहेका विभिन्न प्याकेजमध्ये ४ र ५ नम्बरका लागि ९ फागुन २०७८ मा ठेक्का लागेको थियो ।

ठेकेदार छनोट भएको १५ दिनभित्र गर्नुपर्ने ठेक्का सम्झौता म्याद सकिएको एक सातापछि मात्रै गरेको विषयलाई छानबिन समितिले खरिद ऐनविपरित भएको भनेर औंल्याएको छ । 

समितिको प्रतिवेदन अनुसार द्रुतमार्गको ४ नम्बरको ठेक्का चिनियाँ कम्पनी पोली चङ्दा इन्जिनियरिङ कम्पनीले पाएको छ । 

यो कम्पनीले नेपाली सेनासँग निर्माण कम्पनी छनोट भएको १५ दिनभित्रै सम्झौता गर्नुपर्ने भएपनि २१ औं दिनमा मात्रै सम्झौता गरेको छ । 

प्याकेज नम्बर ५ को ठेक्का पनि चीनकै सीएएमसीई एसडीएलक्यू जेभीले पाएको छ । यो ठेकेदार कम्पनीले पनि ठेक्का सम्झौता गर्नुपर्ने भन्दा एक साता समय ढिला गरेर २३ औं दिनमा मात्रै सम्झौता गरेको छ ।

सार्वजनिक खरिद ऐनअनुसार ठेकेदार कम्पनी छनोट भएको १५ दिनभित्रै सम्झौता गर्नुपर्ने हुन्छ । अन्यथा दोस्रो कम आवेदन गर्ने कम्पनीलाई सम्बन्धित निर्माण आयोजनाको जिम्मा दिनुपर्ने प्रावधान रहेको छ । 

नेपाली सेनाले खरिद ऐन छलेर गरेको यस्तो कार्यले भविष्यमा व्यावहारिक जटिलता समेत उत्पन्न हुने प्रतिवेदनमा उल्लेख छ ।

छानविन समितिले कानूनविपरीत भएको ठेक्का सम्झौता रद्द गर्नुपर्ने सुझाव दिएको छ । आइतवार संघीय संसद्को विकास तथा प्रविधि समितिमा दु्रतमार्गको सम्बन्धमा रक्षा मन्त्रालयबाट गठन भएको उक्त छानबिन समितिको प्रतिवेदन पेश गर्ने गरी बैठक बोलाइएको थियो ।

समितिमा गणपूरक संख्या नपुगेका कारण आइतवार बैठक हुन नसक्दा प्रतिवेदनमाथि छलफल गरेर आवश्यक कारवाही गर्ने विषय प्रभावित भयो । समितिको बैठक अब तीजपछि मात्रै बस्ने विकास तथा प्रविधि समितिका सचिव ओमबहादुर कार्कीले बताए । 

यो द्रुतमार्गको निर्माण कार्य आगामी २०८१ को पुससम्ममा सक्ने कार्ययोजना नेपाली सेनाले सरकारलाई दिएको छ । यसका लागि नेपाली सेनाले वार्षिक ४० अर्ब रुपैयाँ खर्च गर्नुपर्ने माग गरेको छ । यो आयोजनाको गत आवसम्मको प्रगति भने जम्मा २१ प्रतिशत मात्रै पुगेको छ । 

सरकारले भने चालू आव २०७९/८० को लागि द्रुतमार्ग बनाउन ३० अर्ब ७ करोड ८६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

यस्तो बजेट सरकारले १ अर्ब ६५ करोड ५१ लाख रुपैयाँ व्यहोर्ने र बाँकी २८ अर्ब ४२ करोड ३५ लाख रुपैयाँ वैदेशिक ऋणबाट संकलन गरिने सरकारी योजना छ । 

द्रुत मार्गलाई विनियोजन गरेको यस्तो बजेटबाट विकास निर्माणका लागि हुने पूँजीगत खर्च २९ अर्ब ९९ करोड ९७ लाख रुपैयाँ छ । यो बजेटमा सरकारले व्यहोर्ने रकम भने जम्मा १ अर्ब ५७ करोड रुपैयाँ मात्रै हो ।

गत आर्थिक वर्ष २०७८/७९ मा  यो आयोजनाले ८ अर्ब ९० करोड १० लाख रुपैयाँ बजेट पाएको थियो । नेपाली सेनाले खर्च गर्न सक्ने र आयोजना पूरा गर्न बजेट अभाव हुन नदिन आग्रह गरेसँगै सरकारले चालू आवका लागि भने गत वर्षको तुलनामा तीन गुणाभन्दा बढीको बजेट विनियोजन गरेको हो । यो आयोजनाको लागत २ खर्ब रुपैयाँ नाघेको छ । 

नेपाली सेनाले निर्माणको जिम्मा पाएको पाँच वर्षमा यो आयोजनाको प्रगति भने जम्मा ११ प्रतिशत मात्रै छ । सरकारले ५ वर्षमा निर्माण सक्ने गरी जिम्मा दिएको यो आयोजना पूरा हुनुपर्ने समयसम्म नेपाली सेनाले केही प्याकेजको ठेक्का लगाउनसमेत बाँकी छ । 

एक नम्बर प्याकेजअन्तर्गतको प्रस्थान मार्ग मानिएको ललितपुर खण्डमा जग्गाको मुआब्जा विवाद नै टुंगिएको छैन ।

छानबिन प्रतिवेदनबारे जानकारी छैन– नेपाली सेना

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले भने रक्षा मन्त्रालयबाट भएको अध्ययनको प्रतिवेदनका विषयमा आफूलाई जानकारी नभएको बताए ।

‘रक्षा मन्त्रालयले गरेको भनेको अध्ययनको विषयमा मलाई कुनै जानकारी छैन । प्रतिवेदनले के भनेको छ भन्ने विषयमा उतै सोध्नुस्,’ सिलवालले भने ।

नेपाली सेनाले ११ वटा प्याकेज बनाएर फास्ट ट्र्याकको काम गरिरहेको र त्यसमध्ये १ देखि ५ नम्बरसम्मका प्याकेजको ठेक्का लागिसकेको उनले जानकारी दिए ।

सिलवालका अनुसार ६ र ७ नम्बर प्याकेजको ठेक्का आह्वान भएर मूल्यांकनको चरणमा छ भने ८ देखि ११ नम्बरसम्मका प्याकेज ठेक्काको प्रक्रियामा छ । 

नेपाली सेनाले जिम्मा पाएको यो द्रुतमार्ग आयोजनाको समयसीमा २०८१ पुस मसान्त भएकाले सोही समयलाई दृष्टिगत गरेर काम गरिरहेको सिलवालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्