२७ असार २०८३, शनिबार

‘प्रेमगीत ३’ टीमलाई चलचित्र विकास बोर्डको सम्मान

‘प्रेमगीत ३’ टीमलाई चलचित्र विकास बोर्डको सम्मान
तस्वीर सौजन्य : सुरेन्द्र थापा

चलचित्र विकास बोर्डले नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमगीत ३’लाई सम्मान गरेको छ ।

आइतवार विकास बोर्डमा एक कार्यक्रमबीच बोर्ड अध्यक्ष भुवन केसीले ‘प्रेमगीत ३’को टीमलाई सम्मान गरेका हुन् ।

चलचित्रका निर्माता एवं निर्देशकदेखि कलाकारसम्मलाई सम्मान गरिएको छ । नेपाली चलचित्रलाई विश्व बजारमा पुर्‍याउन ‘प्रेमगीत ३’को टीमले गरेको प्रयासको मुक्तकण्ठले प्रशंसा गर्दै विकास बोर्ड अध्यक्ष भुवन केसीले चलचित्रलाई शुभकामना दिए ।

उनले सम्मान स्वरूप गौतम बुद्धको मूर्ति प्रदान गरेका थिए । अध्यक्ष केसीले आफ्नो व्यक्तिगत र बोर्डको तर्फबाट चलचित्रलाई हरेक प्रकारको साथ र सहयोग गर्न तयार रहेको प्रतिबद्धता कार्यक्रममा जनाए ।

भारतमा हिन्दी भाषामा रिलिज हुन लागेको ‘प्रेमगीत ३’ले नेपाली कला, संस्कृति र भाषालाई विश्वमा चिनाउन ठूलो भूमिका खेल्नेमा बोर्ड अध्यक्ष केसी विश्वस्त छन् ।

नेपालको पर्यटन प्रवद्र्धनमा पनि चलचित्रले धेरै सघाउने उनको विश्वास छ । सम्मान ग्रहण गरेपछि निर्माता एवं निर्देशक सन्तोष सेनले बोर्डको प्रोत्साहनले ठूलो हौसला मिलेको बताए । उनले सरकारी निकायमा ‘प्रेमगीत ३’ नेपालको पहिलो ‘नेपाल–इण्डो’ चलचित्र ऐतिहासिक रूपमा दर्ज भएको आफूहरूले महसूस गरेको बताए ।

उनले सरकारको तर्फबाट ‘प्रेमगीत ३’लाई चलचित्र विकास बोर्डले आधिकारिक सम्मान गरेको भन्दै आभार प्रकट गरे । सेनले चलचित्रलाई शुरूआतमा टेलिभिजनमा मात्र प्रसारण गर्न सकिन्छ कि भनेर आफू मुम्बई पुगेको भन्दै आजका दिनमा चलचित्र हलमा लाग्न लागेको कुरा आफ्ना लागि सपनाजस्तो भएको उनको भनाई थियो ।

उनले नेपाली चलचित्रलाई विश्व बजारमा पुर्‍याउन सिंगो चलचित्र क्षेत्र नै एकजुट हुनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा सेनसँगै कलाकारहरू सुनिल थापा, शिव श्रेष्ठ, मनिष राउत लगायत उपस्थित थिए तर मुख्य अभिनेता प्रदीप खड्का र नायिका क्रिस्टिना गुरुङ भने उपस्थित थिएनन् ।

स्व. छेतन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको चलचित्र आगामी असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउँदैछ । स्वर्गीय गुरुङ र मन्दिप गौतम ‘प्रेमगीत ३’का लेखक हुन् ।

salt training

कमेन्ट गर्नुहोस्