

काठमाडौं १६ साउन–दिउँसोको चर्को घाममा बाल्टिनमा पानी लिएर सडकमा छ्याप्दै थिए रातोपुलमा व्यवसाय गर्दै आएका व्यपारी शंकर कार्की ।
१७ वर्ष अघिदेखि रातोपुलमा फलफुल व्यपार गर्दै आएका कार्की सडकमा उड्ने धुलोबाट आजित बनेका छन् । पानी छम्किदै उनले भने,‘मेलम्ची खानेपानी आयोजनाले सडक भत्काएपछि सडकमा धुलो उडेर यहाँ बसिसक्नु छैन ।’
छेऊमै रहेको आफ्नो पसल देखाउदै उनले थपे, ‘पहिला पहिला राम्रो व्यपार हुन्थ्यो । अहिले धुलोले गर्दा यो बाटोमा मान्छे कम हिड्छन्, व्यपार नै छैन ।’ पशुपति मन्दिर र एयरपोट नजिकै रहेकाले पहिला पहिला दैनिक १० हजार भन्दा बढिको व्यपार हुने गरेको भएपनि अहिले दैनिक ५ हजारको पनि व्यापार नहुने उनले बताए । देशका उच्च सरकारी अधिकारीहरु दैनिक सोहि बाटोबाट हिड्ने भएपनि बाटो मर्मतमा भने कसैको ध्यान नगएको उनको गुनासो छ ।
रातोपुलमै होटल व्ययावसाय गर्दै आएका अर्का व्यपारी शेष बहादुर पहरी पनि आफ्नो होटल अगाडि सडकमा पानी छ्याप्दै थिए । पानी परे हिलाम्मे हुने र घाम लागे धुलोले बस्नै नसकिने उनले बताए । ‘सडकमा उडेको धुलो होटलको भित्र सम्म पुग्छ । धुलोको कारण होटल नै चल्ल छोडेको छ’ उनले भने । दैनिक यसरी धुलो खाएर बस्नु पर्दा व्यापार भन्दापनि स्वास्थ्यमा बढि असर गरेको उनको ठम्याइ छ । उनले भने,‘ सर्वसाधारणले दैनिक यसरी धुलो सहेर बस्नु परेको छ । सरकारले छिटै पिज गरीदिए हुन्थ्यो ।’
मेलम्चीको खानेपानी वितरणको लागि पाइप विछ्याउन भत्काईएको सडक मर्मत भएको छैन । जसको कारण राजधानीका अधिकांश स्थानको अवस्था विग्रिएको छ । घामलाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने काठमाडौंको सडकले राजधानी बासी बाक्क÷दिक्क बनेका छन् । 
काडमाडौंको सडकमा मेलम्ची खानेपानी वितरण, ढल मर्मत र सडक विस्तारको कामले गर्दा सडकमा हिलो र धुलो छ । सडक व्यवस्थीत र समयमा सम्पन्न नहुदा राजधानी बासी हैरानी खेपीरहेका छन् ।
राजधानीबासी मात्र हैन सडकको अस्थव्यस्थता कम गर्न सडकमा खटिएका ट्राफिक प्रहरी पनि यसबाट पीडित छन् । भत्किएको सडकमा दैनिक सवारी आवागमन सहज बनाउन निकै कठिन भएको ट्राफिक प्रहरीको भनाइ छ ।
महानगरीय ट्राफिक प्रहरी वृत बौंद्धका प्रहरी निरीक्षक दामोदर भट्टले बौद्धदेखि चावहिल सम्मका बाटोमा रहेको खाल्डाखुल्डीका कारण सवारी व्यबस्थापनमा कठिनाइ परेको बताए । ‘घाम लाग्दा दिनभरी सडकमा खटिएर सवारी आवागमन व्यवस्थीत गर्न निकै चुनौति छ, तर पनि हामीले गरीरहेका छौं’ उनले भने, ‘हामीलाई हाम्रो भन्दा पनि सर्वसाधारणलाइ सहज होस् भन्ने चिन्ता छ ।’
धुलोको कारण मात्र हैन पानी पर्दा पनि उतिकै समस्या हुन्छ । घाम लाग्दा धुलो मात्र सहनु पर्छ, तर पानी पर्दा पैदल यात्री र मोटरसाइकल चालकहरु ठूला सवारी साधनले छ्याप्ने फोहोर पानीको सिकार बन्नु पर्छ । सवारी साधनले हिलो छ्यापेको घटना लिएर सर्वसाधरण प्रहरीकोमा समेत पुग्ने गरेका प्रहरी निरीक्षक भट्टले जानकारी दिए ।
तर भत्किएको सडकमा दुर्घटनाको क्षति भने कम हुने प्रहरी निरीक्षक भट्टको भनाइ छ । भत्किएको सडकमा सवारी साधनले आफ्नो सवारीको गति कम गर्ने भएका कारण पनि दुर्घटना कम हुने उनले बताए । ‘दुर्घटना भईहाले पनि पिच सडकमा जस्तो ठूलो क्षती हुदैन ।’