राजबिराज १६ साउन– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मधेसका समस्या समाधान गर्दै राजपालाई चुनावमा सहभागी हुने बाताबरण बनान प्रमुख दलहरुको ध्यानाकर्षण गराएका छन् ।
मधेस समस्याको लागि दोष राप्रपा र एमालेलाई लगाइएपनि खोट भने काङ्ग्रेस र माओवादीमा रहेको उनको दावी थियो ।
प्रदेश नम्बर दुईको स्थानीय तह निर्वाचनको तयारीको क्रममा सप्तरीको राजबिराज पुगेका अध्यक्ष थापाले पत्रकारसँग कुरा गर्दै आफ्नो पार्टी हिन्दुत्व, मधेसको अधिकार र पहिचानको संरक्षण तथा आर्थिक बिकासलाई मुख्य एजेन्डा बनाएर जनतामाझ जाने बताएका हुन् । उनले भ्रष्टाचार निबारणको निमित्त पार्टीले शसक्त आवाज उठाउने समेत बताए ।
मधेसमा देखिएको अतिबादी शक्तिलाई “आइसोलेट“ गर्नको निमित्त संविधानको परिधी भित्र रहेका उदारबादी शक्तिलाई राष्ट्रिय राजनीतिको मुलधारमा ल्याउनु पर्नेमा उनको जोड थियो ।
मधेस समस्या समाधानको निमित्त नेपाली काङ्ग्रेस र सत्तारूढ दल गम्भिर नभएको आरोप लगाउदै थापाले नियतबस नै सत्तारूढ दलले राजपालाई चुनाव बाहिर राख्ने सुनियोजित खेल खेलिरहेको जिकिर गरे ।
ठूला भनिने राजनितीक दलको अकर्मण्यता, गलत निति र सत्ता लिप्साका कारण बिखन्डनकारी शक्ति हाबी हुँदै गएको अध्यक्ष थापाले दावी गरे ।