२२ जेठ २०८३, शुक्रबार

साम्राज्य निर्माण (कविता)

भदौ १७, २०७९
साम्राज्य निर्माण (कविता)

लक्ष्मण मानव 

कुल जोगाउने 

पितृ तार्ने 

अंश खाने

आफ्नी श्रीमतीको सिन्दुर सँगै उसको नियति 

मेरै अधिनमा राखेको 

म 

म एक छोरो मान्छे ।

म छोरो मान्छे 

जसले ,

मजाले हाँस्न सक्छु खित्का छोडेर

यसरी किन हाँसेको भनेर को भन्छ ?

सभा ,समारोह ,घर सल्लाहमा कुरा राख्दा

"भाले धेरै बासेको सुहाउँदैन "

भनेर कसैले भन्दैनन

मैले कैयन न भएका सम्बन्धहरूका

कृतिम कहानी बनाएर 

छाँती फुलाउँदै भन्दै गर्दा 

साथीहररूबाट तारिफ खाने

म एक छोरा मान्छे ।

मैले यी सारा कथाहरू नलेखेको भए

अथवा 

भनौ,

 पतिको खातिर आफ्नो पवित्रताको 

परीक्षा दिने सीताको कथा नलेखेको भए

रुक्मिणीको त्याग ,राधाको प्रेम नलेखेको भए

स्वस्थानिकी गोमाको कथा नलेखेको भए

पतिले छोराको गर्धन छिनाउँदा ,

सहन सक्ने श्रीमती

 "पार्वती"को कथा झन नलेखेको भए

            र,

यदि नलेखेको भए मनुस्मृती 

मेरो यत्रो साम्राज्य कसरी  बन्थ्यो ?

हरेक राजकुमारीले आफ्नो दाइ ,भाइलाई नै किन स्वीकारिन राजा?

किन भन्न सकिनन म चलाउँछु देश ?

हरेक महिला आफ्नो पतिको खुट्टाको  जल पिउनु 

किन सौभाग्य ठान्छन होला?

र नयाँ कुरा गर्ने हो भने 

अपरिचित युवा युवती भेट हुँदा

युवकले सहजै तिमी 

र युवतीको मुखबाट स्वस्फूर्त तपाईँ 

किन निस्किन्छ होला ?

सदियौँ देखि 

घरको मालिक

गोठको मालिक

खेतको मालिक

गाउँको प्रधान 

देशको प्रधान

न्यायलयको प्रधान 

बनेर हैकम गरिरहेको

म छोरा मान्छे।

यसरी मेरो यो साम्राज्य 

मैले मेरा साना दु:खले आर्ज्याको होइन 

यहाँ त्याग छ ,पसिना छ ,समय छ ,३३कोटि   ,यसु ख्रीस्ट ,अल्लाह  जस्ता पात्र छन् 

र, 

सबै भन्दा ठूलो कुरा धोका छ ।।

बाँके

salt training

कमेन्ट गर्नुहोस्