
संवेदनशील मानिस जतिखेर पनि शब्दमा पोखिन्छ । आफ्नो कविताको बकपत्र (नेपोलियन र सुकुुमार सपना)मा कवि महेश प्रसाई भन्छन् ‘र म रोएँ । खुब रोएँ । आल्हाद आनन्दले रोएँ । त्यसपछि मन हलुुङ्गो भयो । संवेदनाको आँसुमा ठूलै शक्ति हुँदोरहेछ । धर्तीको रजोष्णमा संवेदनै संवेदनाका आँसुहरू छन् । ती आँसुहरू मैले मेरै आमाको गर्भबाट बटुलेर ल्याएको हुँ, यी कविता पङ्तिभित्र । जसरी प्रमिथसले अग्नि ल्याएको थियो स्वर्गबाट ।’ कविताको बकपत्र कवि महेश प्रसाईको जीवनको यथार्थ र कविताको मान्यता हो, जसभित्र उनी जीवन र कविता एकसाथ बोलिरहेका छन् ।
अक्षर भएका धेरै व्यक्तिहरू स्रष्टा बन्ने हुटहुटीमा छन् । तर स्रष्टा त्यत्तिकै भइँदैन । पहिलो, स्रष्टा हुन निरन्तरको साधना शक्ति चाहिन्छ, यो रहर र लहडको विषय होइन । दोस्रो, बजोडको कल्पना शक्ति चाहिन्छ । तेस्रो, कल्पना र सामाजिकतालाई संयोजन गर्ने कलाकारिता चाहिन्छ । चौथो, आलोचनात्मक चेत र समयवोध नभए सिर्जना सिर्जना बन्दैन । पाँचौ, जीवनवादी दृष्टिसङ्क्षेत्र चाहिन्छ । त्यो सङ्क्षेत्र जति फराकिलो भयो, त्यसैको सापेक्ष्यमा सिर्जना फैलिन्छ । स्रष्टा महेश प्रसाईमा ठ्याम्मै लागू भएकाले यी कुराहरू उठाइएको हो ।
२०२९ देखि फुटकर कविता र लघुकथामा प्रकाशित हुन थालेका कवि महेश प्रसाई पुस्तकका रूपमा भने ‘भूमिका पछि’ (२०३३) अग्निको प्राग्भूूमिमा’ (२०४२), ‘केही चकमक र शिखाहरू’ (२०५१), ‘नि:सृत समुद्र र कालो तिर्खा’ (२०५२), ‘प्रत्यञ्चाको बादल’ (२०५४), ‘शब्द–वस्त्रमा रुपको नदी’ (२०५८), ‘शनै शनै रेगिस्तानहरू’ (२०७०) र ‘नेपोलियन र सुुकुमार सपनाहरू’ (सन् २०१४), फूलै फूलको आलाप’ ‘अतिरिक्त स्वरहरू’, ‘कुमुदिनी’, ‘एउटा कथाको पुनर्जन्म’ गल्प/लघुकथालगायत कृतिहरू प्रकाशित छन् । उनको पछिल्लो कृति लघुकथाका रूपमा आएको छ ‘इब्राहिमको घोडा र बिकिनीहरू’ । सबैमा नवीन प्रयोग छ । प्रयोगमार्फत् परिभाषा बदल्ने शक्ति उनमा छ ।
स्रष्टा प्रसाईको प्रवृत्तिहरू सामान्य रूपमा औल्याएर उनको लघुकथा ‘इब्राहिमको घोडा र बिकिनीहरू’ मा प्रवेश गर्नु उचित हुन्छ । महेश प्रसाईका सिर्जनाहरू अकन्टक रूपमा समय यात्रा (पेसेज अफ टायम) गर्दछन्, सिर्जनाको विधाले यसलाई फरक पार्दैन । ब्यङ्ग्य, बौद्धिकता र विद्रोह त्रासदीको नायक’ हुन् । अनौठा शीर्षक र अमूर्त अभिव्यक्ति दिने विशिष्ट क्षमता उनमा छ । शीर्षकले सिर्जनाको अन्तर्य, अर्थवत्ता र आवृत्ति स्वत: निर्धारित गर्ने सामर्थ्य राख्दछन् । जस्तो कि शब्द–वस्त्रमा रूपको नदी, नि:सृत समुद्र र कालो तिर्खा, प्रत्यञ्चाको बादल, अग्निको प्राग्भूमिमा, केही चमक र शिखाहरू, इब्राहिमको घोडा र बिकिनीहरू । शीर्षकबारे केही प्रतिक्रिया जनाउन चाहने कुनै पनि जिज्ञासुको मथिङ्गलमा केही स्वाभाविक प्रश्नहरू जन्मन्छ । जस्तो कि अग्निको प्रागभूमिमा : अग्नि ? के खाले अग्नि ? प्राग्भूमि ? प्राक् अर्थात् पूर्व ? अथवा प्राक् अर्थात् पहिले ? कि प्राक् अर्थात् सामुन्ने ? यत्तिकैमा जिज्ञासुको कुतूहल मत्थरिने छैन ।
प्रश्नका तरेली थपिदै जाने छन् । भूमि ? अर्थात कस्तो खाले भूमि ? भूमि अर्थात् माटो ? अथवा भूमि अर्थात् पृथ्वी ? कि भूमि अथवा राष्ट्र वा देश ? अग्निको प्राग्भूमि ? आगो झै भतभती पोल्ने, छटपटी पैदा गर्ने, रन्थनी उब्जाउने वा रनाहा छुटाउने कुनै पनि नियम ? अथवा त्यस्तो परिस्थिति निम्त्याउने कुनै पनि स्थिति ? अथवा त्यस्तो परिवेशमा रुमलिइरहने कुनै पनि बिन्दु ? जीवित बिन्दु अर्थात् मान्छे ? निर्जीव बिन्दू अर्थात् समाज, गाउँ, जिल्ला, अञ्चल, देश, महादेश वा विश्व ? कि निर्जीव र जीवितको सालाखाला कुनै मान्यता ?’ भाषाविद प्रा. बालकेष्ण पोखरेलले उनको शीर्षकमाथि उठ्ने प्रश्नलाई गहिरिएर छताछुल्ल पारेका थिए । एउटा शीर्षकले यति धेरै प्रश्न उठाउन सक्ने क्षमता समकालीन स्रष्टाहरूमा महेश प्रसाईमा धेरै अघि छन् । त्यस प्रथम वाक्यलाई साररूपमा प्रयोग गर्ने विशिष्ट क्षमता पनि उनीमा छ ।
अब लघुकथा र उनको पछिल्लो लघुकथाको विवचाना गरौं । ‘इब्राहिमको घोडा र बिकिनीहरू’ पचहत्तर सूत्रसुक्तिहरूको कथाकाव्य हो । लघुकथा अनुुभूतिको सर्ट स्ट्रोक्स (छोटा झोक्का) हरूलाई सूत्रवद्ध गर्दै पाठकमा कौतुहल सिर्जना गर्ने शक्ति हो । लघुकथाहरू निकै शक्तिशाली हुन्छन् । संरचना, आयतन र अनुुभूतिमा छोटा भए पनि यो कथाको सारांश नभै आख्यानको छुट्टै उपविधा हो स कथा, उपन्यास जस्तै । त्यसैले उपन्यास, कथा र लघुकथाबीच तहसोपनको सम्बन्ध छैन । रोमान्स, व्यङ्ग्य, विचार र रहस्यले लघुकथालाई आख्यानका अन्य उपविधाबाट अलग्याएर विशिष्ट बनाएको हुन्छ । ती कथाभन्दा पनि शक्तिशाली र दिमाग रन्थाउने सामर्थ्यमा हुन्छन् ।
छोटो प्रवाह, तीक्ष्ण दृष्टि, गहन विचार र दिगो प्रभाव ‘इब्राहिमको घोडा र बिकिनीहरू’ का विशेषता हुन् । यो उनकै ‘रेच्की गल्प’, घटना–घुट्काको भाव एवम् आकृति र प्रतिध्वनिको प्रवेग हुन् । प्रस्तुति सूत्रात्मक मात्र छैनन्, कवितात्मक र सूूक्तिमय पनि छन् । महेश प्रसाई सिरले ज्याक्सन, एड्गार एलेन पो र ल्फानरी ओ कनर जसरी पाठकलाई एकै झोक्कामा अमीट छाप दिन चुक्दैनन् । कथामा जसरी लामो घटना, संवाद–मनोवाद, विचार र विचरण गर्न नपाए पनि उनका लघुकथामा छरिता, प्रभावोत्पादक र गहिरो दृष्टि छ । कथानक उत्तेजक छन्, विषयबस्तुु आयामिक छन् । तिखो व्यङ्ग्य छ र छोटा भएर पनि सम्पूर्णताको प्रतिनिधित्व गर्दछन् । धेरैले लेख्ने गरेजस्तो लघुकथा चुट्किला होइन भन्ने सिद्ध छ ।
लघुकथा शक्तिशाली हुन्छन् । ती समय र परिवेश नाघेका सीमा स्मृति, अनुुभूति र आवेगलाई सूत्रवद्ध गर्दछन् । मानव इतिहासदेखि कथा मानव सम्बन्ध, स्वभाव र सञ्चारको सूत्र हो । मानिसहरू कथामा बाँच्दै आएका छन् । व्यक्तिका बुुझाइ, व्यवहार र भ्रम कथामार्फत् सूत्रवद्ध हुँदै आएका हुन् । ढुुङ्गे युुगदेखि एआईसम्म मानिस कथामा बोल्दै आएको छ । एक्काइसाँै शताब्दी याने कृतिम बौद्धिकताको युुगमा कथा बोल्ने शैली बदलिएको छ, कथाका कघटनाहरू बदलिएका छन्, कथाका पात्र (जीवन) नै सूत्रमय भएको छ । गणितमा झै सूत्रमा संवाद–व्यवहार गर्नुपर्ने समयमा लामा कथाभन्दा लघुकथाले जीवन बोक्न थालेका छन् ।
जीवनशैली स्मार्ट भएपछि कथा पनि स्मार्ट बन्नुपर्ने बाध्यताले स्मार्टकथा शक्तिशाली भएका हुन् । ‘इब्राहिमको घोडा र बिकिनीहरू’का सूत्रकथाहरू एउटा सानो स्ट्रोकमा सम्पूर्णलाई बोक्न र दिमागलाई रन्थनाउने रहस्य छाड्ने सामर्थ्यमा छन् ।
महेश प्रसाईका लघकथा सूत्रात्मक त छँदैछन्, ती कविताकथा, चित्रकथा, ध्वनिकथा र दृश्यकथाका पनि हुन् । कवितामा जस्तै प्रसाई लघुकथामा पनि प्रयोगवादी रचनाधर्मिता देखाउछन् । व्यङ्ग्य सामान्य घोचपेच र उटोसपटोसबाट माथि उठेर तिखो तीर बनेको छ, तर ती सावधान वान हुन् निशानामा लाग्ने कोमल बान हुन् । कथामा कल्पनाशीलता छ, प्रतीक र रुपक छन् र विचारको संयोजन शिल्पपूर्ण छ, जुन लघुकथाका खास तत्व अन्तर्य हुन् । शंकर लामिछानेका निबन्ध जस्तै, आयमेली (र उनकै) कविता जस्तै ‘इब्राहिमको घोडा र बिकिनीहरू’ विशेष छ ।
लघुकथाका शीर्षक विशेष शिल्प सावधानीमा कुँदिनुु पर्छ । ‘इब्राहिमको घोडा र बिकिनीहरू’का शीर्षकहरू अनौठा छन्, शिल्पमा पनि स्वरूपमा पनि र अर्थमा पनि । तिनले शीर्षकदेखि नै दिमाग रन्थनाउने ताकत देखाउछन् । शीर्षकमा कल्पनाशीलताको अमूर्त चित्र उतार्ने उनको कविताको बानी लघुकथाले पनि पछ्याएका छन् । यस अर्थमा लघुकथाकार महेश प्रसाईमाथि कवि महेश प्रसाईले धावा बोल्छ । त्यसैले ‘इब्राहिमको घोडा र बिकिनीहरू’लाई कविताकथा भनिदिए हुन्छ ।
जीवनका साना र तिखा झोक्का (भञ्ज्याङमा थकाइको खुुइय गर्दा आएको सिरेटोको झोक्का जस्तै मुटुु छुने)लाई कवितात्मक बनाउँदा भाव, दृश्य र विचार संयोजित रङ्ग भएर कथाक्यान्भासभरि पोखिएका छन् । क्यान्भासले आँखालाई भन्दा मनमस्तिस्कलाई एकोहोर्याउछ । आँखा, मन र मस्तिष्कको संयोजित पोर्ट्रेट गर्नुु महेश प्रसाईको लघुुकथाकारिता हो । ‘इब्राहिमको घोडा’, ‘समयको ऐलान’, ‘सुकरात र रेनेसा’, ‘शायद एउटा एनिमल फर्म’ लघुकथा यी प्रवृत्तिका प्रतिनिधि दृष्टान्त हुन् ।
लघुकथा ‘स्मार्ट कथा’ हुन् । कथालाई प्रस्तुुति गर्ने, कथा संरचनालाई स्मार्ट बनाउने, कथाकारलाई स्मार्ट दृष्टिविन्दुमा पुुर्याउने काम लघुकथाले गर्छ । एक्काइसौँ शताब्दीले सबैतिर स्मार्टनेस मागेको छ । आख्यानमा उपन्यासबाट कथा, कथाबाट लघुकथा खारिँदै–खिरिँदै आएका छन् । स्मार्टनेस पाठकसम्म पुुगेको छ । लघुकथाका स्वादग्राही (उपभोक्ता) आफैँ पनि समय, प्रभाव र लगावमा स्मार्टनेसको आमन्त्रण गरिरहेका छन् । लामो पढ्ने, हेर्ने, लेख्ने, फुर्सद पनि छैन । त्यसैले स्मार्टकथा शक्तिशाली हुन थाले । जीवनको सम्पूर्णताको प्रतिनिधित्व वा सम्पूर्णको संक्षिप्ततामा उठाउने काम लघुकथाले गर्दछ । यसप्रति लघुकथाकार प्रसाई सावधान छन् । जस्तो कि ‘एउटा स्मार्ट सिटी’मा किनाराकृत बस्तीले शहर, योजना, शिक्षा, व्यवस्था, वृत्ति र बासिन्दालाई सानो वाक्यांशले उठाइदिएको छ र स्मार्ट सिटीमाथि तीखो व्यङ्ग्य गरिएको छ । यसरी ‘डु मोर वीथ लेस’ को चरित्रकार्य लघुकथाले गरेको छ । त्यसैले लघुकथा जीवनका मिनिएचर हुन्, विषयका मिनिएचर हुन्, समाजका मिनिएचर हुन्, व्यवहारका मिनिएचर हुनु् । ती खास कँुुदाइका हुन् र मिनिएचर भएकाले छरिता–सूत्रात्मक हुने नै भए । त्यसो हुनुु भनेको स्मार्ट हुनु हो । पात्र–घटनाको एकलतामा पाठकलाई विशिष्ट आकृति, जीवनको झल्का (स्नापसट अफ लाइफ)मार्फत् गहकिलो प्रभाव छाड्नुु चड्किलो चड्कन दिनु स्मार्टकथाका कार्य हुन् । ‘इब्राहिमको घोडा र बिकिनीहरू’ले त्यसै गरेको छ ।
लघुकथा ‘इब्राहिमको घोडा र बिकिनीहरू’ले विषयविधाप्रति न्याय गरेन कि भने प्रश्न तेर्सिन सक्छ । कथा प्रस्तुतिमा रहेको क्रमभङ्गता, कवितात्मकता, विषयपरक परिवेश र कथाव्यापार ठ्याक्कै लघुकथाका मूल्य विधानमा छन् ? भन्ने प्रश्न उठ्न सक्छ । लघुकथा, ल्फास इन्साइट, सूूक्ष्मकथा, आकस्मिक कथा, स्नापसट, ट्वीटेचर, रेडिट कमेन्ट आदि रूप/वर्ग संरचनामा पर्दछन् । लघुकथा भित्रपस्दा त्यहा पाइने कवितात्मकताको वर्चस्व, अकथागत झुुकाव, घटनाभित्रका विचार र दृष्टिक्षेत्रले लघुकथाको दायरा नाघेका छन् भन्न सकिने स्थान प्रशस्तै छ । खास कुरा के छ भने लघुकथाका संरचनागत पक्ष र लघुकथामा रहेका कल्पनशीलता, प्रतीकवादको र जेष्टापोसिजसनले लघुकथाको सीमालाई विस्तृत बनाएको छ ।
यस अर्थमा ‘इब्राहिमको घोडा र बिकिनीहरू’ लघुकथाको विशिष्ट प्रयोग हो । कथाकारले आफ्ना कविताहरूमा यसै प्रकारको प्रगोगधर्मिता अपनाएका छन् । ‘अग्निको प्राग्भूमिमा’ र ‘शब्द वस्त्रमा रूपको नदी’ आदि भावकाव्य नेपाली काव्य वाङ्गमयमा विशिष्ट प्रयोग थिए, परिणामत: कविता क्षेत्रमा एकप्रकारको रनाहा छुटाएको थियो । यसैगरी उनको लघुकथाले पनि पाठक–अध्येतालाई बौद्धिक आक्रमण गर्दछ । तर यो लघुकथा उपविधाप्रतिको अन्याय नभै सीमा र अर्थवत्ता विस्तार हो, पहिचान विस्तार हो । संरचना, विधान, विचार, सूत्र–सूक्तिले लघुुकथालाई नवीन कलेवरमा विशेष बनाएकोले सोको पुुष्टि गर्दछ ।
संरचनामा अनौठोपन, विस्तृत अर्थवत्ता, उत्कर्ष र समापनमा प्रभावको विद्युुतीय झड्काले लघुकथाको पहिचानलाई विशेष बनाएको छ । लघुकथाको अग्रसरतामुखी प्रयोगले लघुकथाको पुनर्आविस्कार गरेको छ । ‘राज्यरहित’ ‘इब्राहिमको घोडा’, ‘साइँली र सूूक्ष्मसत्ता’, ‘रुख र अभिनेत्री’, ‘शायद एउटा एनिमल फर्म’, ‘क्रसबिड’ आदि लघुकथाले यसै गरेका छन् । एक्काइसौ शताब्दीमा देखिएका लघुकथाका केही ट्वीटेचर, केही इन्स्ट्रापोइट्री, केही दृश्य मिनिएचरका संयोजित साना क्यान्भास बनाउने प्रयास लघुकथाकार महेश प्रसाईले गरेका छन् । त्यसैले ‘इब्राहिमको घोडा र बिकिनीहरू’ को प्रयोग विशेषीकृत छ रुप, संरचना, प्रस्तुति, पात्र र पात्रकार्य सबैमा ।
‘इब्राहिमको घोडा र बिकिनीहरू’ भित्रका लघुकथाहरू देवकोटाले भनेजस्तो संसार च्याउने छोटो किस्सा, एड्गर एलान पोले भने झै एक बसाइमा पढिसकिने मात्र होइन बरु आलेस कागेनले भने जसरी थोरै भनेर धेरै बताउने गर्दछन् । निकै सानो आयतन, छरितो संरचना र सूत्रात्मक प्रस्तुतिमा बृहद दृष्टिविम्ब दिने गर्दछन् । तिखो व्यङ्ग्य, गहन विचार, फराकिलो दृष्टिकोण र गहिरो प्रभावले लघुकथाको अर्थवत्ता सिद्ध गर्दछन् । जस्तो कि सङ्ग्रहको पहिलो लघुकथा ‘राज्यरहित’ ले राज्यका सबै पार्टपुर्जा, कार्य–कार्यविधि, चरित्र–चरित्रकार्य, साध्य–साधन र अशय–अभिष्टलाई लघुचित्रमा एकसाथ देखाएको छ । राज्यका सबै अवयवका बावजुद पनि राज्यरहित अवस्था रहनुमा तिखो व्यङ्ग्य दिदै मौजुदा राज्यसञ्चालनमा अन्वेषणको आग्रह गर्दछ ताकि राज्य अनुुभूतिमा देखियोस् । जम्मा साठी, एकसट्ठी शब्दमा समग्र राज्यसञ्चालनको चित्र कोर्नु र नयाँ अभिष्ट पनि राख्नुु चानचुने प्रस्तुुतिले हुँदैन । राज्य जस्तो बृहद संस्था, बृहद कार्यआयतन, बृहद अपेक्षा, बृहद संरचनालाई हत्केलामा उभाउनु ठूलो कुरा हो । उनले ‘राज्यरहित’मा खिचेको राज्यचित्रलाई ‘जुम’ गरेर हेर्न सकिन्छ । ‘स्टार वार’, मा पराजित मानवताको मिनिएचर छ र निमानवीकृत हुँदै गएको समाजलाई मानवीकरणको आग्रह छ । झण्डै ईश्वरीय शक्तिलाई परास्त गरिसकेको मानिस आफ्नै सिर्जनाको प्रविधिबाट स्वत्व पराजित भएकोप्रति चिन्ता छ । यहाँको व्यङ्ग्यले प्राणी श्रेष्ठ मानिसलाई सर्बश्रेष्ठ बनिरहन विवेक र मानवीय मूल्यप्रतिको आग्रह छ ।
महेश प्रसाई अप्ठेरो बाटो रोज्ने स्रष्टा हुन् । भनौं, परिस्थितिको अप्ठेरो उनको भागमा पर्ने गर्छ । तिनै अप्ठेराहरू सिर्जनामा देखिएका छन् । अप्ठेरोलाई बताउने उनलाई जटिल शब्द संरचना चाहिन्छ, भावविम्व चाहिन्छ, उपमा उपमेय, विज्ञान र मिथक पनि चाहिन्छन् । संघर्ष र नियतिसँगको पौठाजोरीमा खारिएपछि मानिस फराकिलो र परिपक्व बन्ने गर्दछन् । उनका सिर्जनामा त्यो ठ्याक्कै देखिन्छ । त्यसैले होला उनलाई असजिलो भएको, जटिल भएको आरोप लाग्ने गरेको छ । ‘जीवन नै धेरै कठिन र सर्ङ्षपूर्ण यात्रा भएको हुँदा’ तिनलाई बताउने शब्द जटिल देखिएका हुन् । ‘अनुभूतिलाई गणितीय सूत्रबाट हेर्न पनि मिल्दैन । भौतिक परिमाणमा कुनै तौल, वजनबाट जसरी अनुुभूति न व्यक्त गर्न सकिन्छ, र न मापन नै ।’ लघुकथाहरू पनि कविता जस्तै जटिल छन्, तिनले जीवनको जटिलता अभिव्यञ्जन गरिरहेका छन् । तिनले मथिङ्गलमा रनाहा छुटाएका छन् । तर अर्थ विस्तृतिमा लचकदार सूत्र बनिरहेका छन् । गणितका सूत्रहरू विषयका प्रमाणित परिमाण हुन्, त्यसैले ती छोटा देखिएका हुन् भने जसरी लघुुकथाहरू सारसूत्रमा छन् । शब्द सूत्रका बहुतीर छन्, सबै तीरबाट गहन निशाना दावीरहेका छन् । ती निशानाले एकै सत्य संसार (जीवन) को अर्थ दिन्छ । तीरका निशाना ज्ञान–विज्ञान, नेता–नीति, शासन–शक्ति, सौन्दर्य–पराक्रम, युद्ध–शान्ति परस्पर प्रतिस्पर्धी देखिएका विचारलाई संयोजित एकत्वतर्फ छन् । दृष्टान्तमा ‘मन्दोदरी र राप्रउ’लाई लिऊ । मन्दोदरी प्रेम र शान्तिकी सिम्वोल हुन्, जिलेन्सीकी–पुटिन–रावण युद्धका, राप्रउ भ्रमको विद्वान हो । दक्षिणपन्थ राज्य, भ्रामक राजनैतिक विचार, अहम् तुष्टिको युद्धको निशानामा मन्दोदरीको उपस्थिति छ । सबै लघुकथा विम्वात्मक भावचित्रका पुञ्ज हुन् । प्रवेशमा जटिलाता अप्ठेरा तर शब्दभित्र पसेपछिको आनन्द पाठक भावक बनेर गहिरो ज्ञानसागरमा डुव्छ । त्यसैले जस्तो जीवन त्यस्तै कथा, त्यस्तै अभिव्यक्ति ‘इब्राहिमको घोडा र बिकिनीहरू’ले सिद्ध गर्दछ ।
समालोचक तारानाथ शर्माले भने झै महेश प्रसाई तीक्ष्ण दृष्टि, सूूक्ष्म चेतना र प्रखर अभिव्यक्ति भएका साधक हुन् । विधा/प्रविधा जे भए पनि यी कुरा उनका सबै सिर्जनामा साझा छन् । लघुकथासङ्ग्रह ‘इब्राहिमको घोडा र बिकिनीहरू’ का सबै फ्ल्यास इन्साइट तिक्ष्ण दृष्टिकोण, सुक्ष्म चेतना र प्रखर अभिव्यक्तिका छन् । पचहत्तरै लघुकथाले पाठक—अध्येताको मथिङ्गलमा विद्युतीय झट्का दिन्छन् । भनिएला यो त लघुकथाको धर्म नै हो, दृष्टि नभएको, चेतना नभएको र अभिव्यञ्जना नगर्ने पनि स्रष्टा हुन्छ र ? अरूभन्दा उनमा के विशेष छ त भन्दा महेश प्लाटिनमका कणमा छिर्छन्, चेतनामा उजेलिन्छन् र पाठकलाई पनि चेतनाको उज्यालो दिन्छन् । लघुकथामा भावनाभन्दा चेतना र चेतनाभन्दा प्रभाव प्रखरता छ । ती आक्रामक छन्, निशाना निख्खर छ । यी सबै कुराले महेश प्रसाईलाई खास बनाएको छ ।
‘इब्राहिमको घोडा र बिकिनीहरू’ लघुकथा भित्रका केस्रा केस्रा केलाउँदा उनको अन्तरचेत, समय यात्र, बौद्धिक तिक्ष्णता, जीवनको असजिलोपन, अमूर्तभाव र व्यङ्ग्य पाइन्छ त्यो पनि धेरै विषयक्षेत्रमा । ‘राज्यरहित’मा मौजुदा राज्य संरचनाको अकमर्ण्यता माथि आक्रामण छ, व्यङ्ग्य छ र क्रियाशील समावेशी नागरिक गर्वको राज्यको अपेक्षा विम्ब आमन्त्रित छ । ‘स्टार वार’ ईश्वरीय शक्ति प्राप्त, प्रविधि र ज्ञानले सज्जित तर निमानवीकृत यान्त्रीकृत समाजमा विवेक र मानवताको खोज छ । जितेर पनि हारेको मानिसमाथि व्यङ्ग्य छ । ‘साइबर’ सम्प्रभू शक्तिभन्दा शक्तिशाली बन्दै गएको साइबर शक्तिको बखान र राजनैतिक दलहरूप्रति तीखो व्यङ्ग्य छ । सर्वव्यापी र अन्तरसम्बन्धित बन्दै गएको विद्युतीय शक्तिले समाज, राज्य र राजनीतिक प्रक्रियामाथि धावा बोलेको छ । साइवर त्यसैको विम्ब हो ।
‘इब्राहिमको घोडा’ लाक्ष्यणिक छ । यो समाज, यौन र पौरुषत्वप्रति एकमुुष्ट खिज्याइ हो तर शर्क्षिकविम्बजस्तो यौनकथा होइन । ‘बाहुुबली’ राज्यप्रणाली, विकास व्यवस्थापन र लोकतन्त्रको वितरणको विसङ्गतिप्रति लक्षित छ, यसलाई ‘राज्यरहित’कै अर्को प्रकरण भने पनि हुन्छ । ‘पहिचानको खोजी’ चेतन सोच सकिएकाहरूप्रति, चिन्तन र चुनौतीलाई वेवास्ता गर्नेहरू प्रति, आत्मचेत सकिएकाहरूप्रतिको चिन्तन र आक्रमण हो ।
‘महाप्रसन’ सञ्जाल–सञ्चारमा टाँगिएका कथाहरू ‘सुपर हिम्यान’ भनाउदाहरूप्रतिको व्यङ्ग्य हो । यी कथाहरू कुप्रथा र बेथिति प्रहसन हुन्, फगत नाटक । यसले पनि राजनीति गर्नेलाई फेरि नङ्ग्याएर चड्काएको छ । ‘जनता’ निरिह जनता पराधिन मगजहरूमाथि अर्को चड्कन हो । ‘बेतुकी’ले बिरबल र अकवरको मिथकमा शासनको बेतुकीलाई उदिनेको छ । ‘हार्मोन’ अचेल भन्ने गरिएको क्रमभङ्गता, सत्ता समीकरण, शक्ति मिलान र मौलिकता गुमाउँदै गएको राजनीतिका ढोंगीवृत्तिमाथि लघुचित्र हो । ‘जोखिम’ सामाजिक विकृतिको व्यङ्ग्याभिव्यक्ति हो । अर्जुन कार्की (पति) प्रति कत्तिपनि चासो नराख्ने क्रिस्चियन भैसकेकी पत्नीले अर्जुनको मृत्युपछि जायजेथाका लागि हिन्दूविधि अनुसार काजकिरिया गरिन ।
समाजमा देखिएको चरम धमिरो प्रवृत्तिलाई कथाले छरपष्ट पारेको छ । ‘खेलजस्तै खेल’मा बलाबालिका सानो राजा–मन्त्री, चोर–पुलिस खेल खेल्दछन् र परिपक्वमा बेइमान भएर सूत्रखेल, सेटिङ खेल, म्याचफिक्सिङको झेली खेलिरहेका छन् । विशेष त समाज र शासन बदल्छु भन्ने भनेर राजनीतिमा लाग्नेहरू राजनीतिले उनीहरूलाई झेलिखेलमा बदलिदिएको छ । राजनीति बदल्न गएकाहरू राजनीतिमा किन बदलिए ? किन यसो हुन्छ ? प्रश्न अनुत्तरित छ ।
‘माया’ घर–चौघेरामा श्रम खर्चिन विवश बनाइएका महिलाहरूको यथार्थ हो । ‘रात्रीभोज’ पतिले पत्नीप्रति र पत्नीले पतिप्रति गरिएको यौन धोकाको कटुु चित्र हो । समाजमा यस्ता धोकाहरू भइनै रहेका छन्, पति पत्नीलाई छकाएँ भनेर दङ्ग छ, पत्नी पतिलाई त्योभन्दा गज्जवले आँखा छलेर वासनापूरा गरिरहेकी छे । एकअर्कलाई धोका दिँदै दुवै जीवनको स्वत्व सखाप पारिरहेका छन् । समाज यसरी नै विकृतिको भुसभुसे आगोमा छ । एकअर्कालाई धोका दिएर रमाएका पति पत्नीहरू आफँै ममत्व र हार्दिकताबाट धकेलिएका छन् । ‘रिठ्ठे’ सुकिला लुुगा लगाउनेको मैलो मनको उदिनाइ हो । ‘लीलाहरू’ मा विकनी र बजारको नाममा विक्री हुने यौनमाथि व्यङ्ग्य छ । बजारका नाममा जतातै लीला भैरहेको छ । ‘अपुताली’ सम्पत्तिको लोभमा बेमेल क्रान्तिकारी विवाहको चित्र हो, सिद्धान्त र व्यवहारबीचको खाडल देखाइको छ । ‘तुकरहित’ विभ्रम–स्वभ्रममाथि खनिएको छ । ‘तुुष’ मालिकप्रतिको आक्रोसमा गाडी (वृत्ति) गुमाउने ड्राइभरको तुुष हो । ‘समयको ऐलान’ कसैलाई देवत्वकरण र दैत्यकरण गर्ने हामीहरूमाथिको चोटिलो प्रहार हो । ‘श्लील’ अश्लील गरेर श्लील भएको दाबी गर्ने दुराचारीहरूको प्रवृत्ति प्रति उपहास हो । ‘क्रसविड’ कोइली र कागको षड्यन्त्रमा जन्मिएको चिवेचरीको दृष्टान्तमा सामाजिक विकृतिप्रति व्यङ्ग्य हो । ‘श्मशान’ श्मशान बन्दै गएको समाजप्रतिको आक्रमण मार्फत गतिशील समाजको आग्रह हो । ‘पृथक रङ्ग’ कुविचार र व्यभिचारबाट विस्थापित हुँदै गएको सदाचारको नियति हो । यो पनि शासन र विधिप्रति व्यङ्ग्य हो । ‘हमाश’ महाशक्तिमा षड्यन्त्र गर्ने पेन्टागनप्रति लक्षित मिसाइल हो । पेन्टागनजस्ता शक्तिस्थल महाहमाशमा चित्रित छन् । ‘फोर्थ कर्नर’ पुटिन, बाइडेन, जिलेन्स्की र सी जिन पिङ्को विम्बमा युद्धपिपासुहरूप्रति व्यङ्ग्य छ ।
‘छापा र सारथि’ ज्ञान–विज्ञान, दर्शन–वाद, सिद्धान्त–शास्त्र र पुराणबाट थिचिएको जीवनमाथिको प्रहार हो । जीवन अर्ति उपदेशबाट उठ्नै नसक्ने भारीमा छ । कथा भन्छ :
‘ज्योति ज्योति महाज्योति हिँड्नू ।
विज्ञानको तर्कमान अभियानले भन्यो ।
सूत्र–सूत्रादि र प्रविधिमा हिँड्नू ।
वाद–प्रतिवादले भन्यो ।
मेरो रिदम–ट्र्याकमा हिँड्नू ।
दर्शन–दीग्दर्शनले भन्यो ।
इेन–केन प्रकारेण हिँड्नू ।
शास्त्र–शस्त्रार्थले भन्यो ।
निष्ठा र सिद्धान्तमा हिँड्नू ।
पुराण–महापुराणले भन्यो । नीति–किंवदन्तीमा हिँड्नू ।’
के जीवनले यति बढी उपदेश र आग्रहको भारी बोकर हिँड्न सक्छ ? ‘छाया र सारथि’को व्यङ्ग्य सङ्ग्रहकै सबैभन्दा चोटिलो कविताबम (मिसाइल) हो, जसले सबै उपदेशकलाई एकैचोटि चड्काएको छ । महासागर जत्तिकै फराकिलो अनि गहिरो ज्ञानको क्षितिज यसले उघारिदिएको छ । तर प्रश्न छाडेको छ, यो लघुकथा हो कि, सूत्रसम्वाद हो वा अरू नै केही ।
‘अन्योक्ति’ को केन्द्रस्थमा विज्ञान छ । ‘मोक्षदा’ धर्म विसङ्गतिको कथा हो, स्खलित मूल्यलाई देखाएको छ । ‘बोधिसत्व’ मानिसलाई सर्वश्रेष्ठ जाति बनाउने अमृतको रूपमा लिइएको छ, व्यङ्ग्यभन्दा बोधलाई इङ्गित गर्छ । ‘बनाना रिपव्लिका’ मध्य अमेरिकी मुलुकमा अमेरिकी केरा व्यापारीले नियन्त्रण जमाएजस्तै नेपालको संघीय गणतन्त्रमा पनि थोरै व्यक्तिको कब्जामा नागरिकको स्वतन्त्रता, निजत्व र स्वाधिनता कब्जामा पर्दै गएको लाक्षणिक चित्र हो । ‘श्रेणी बा’ शासकीय संरचनामा रहेको तहसोपनमाथि उछित्तो गर्छ । ‘रुख र अभिनेत्री’ रुखको विम्बमा उतारिएका यौवनमाथिको व्यङ्ग्य हो, जसको तीर यौवनमा मात्र छैन, तृष्णाधारीहरूप्रति पनि लक्षित छ । ‘कल्प मैथुन’मा कल्पनाको बासनाक्रिया उदिनिएको छ । ‘कथाका मिनिएचरहरू’ शासकीय बेथितिका चर्चाहरू केवल बेथितिका साना चित्र (मिनिएचर) मात्र हुन् भनी विशाल बेथिति देखिएकै छैन भन्न खोजिएको छ । ‘अभिलेख’मा प्रकृतिको उपमामा बेजोड व्यङ्ग्य छ, रतिकहरूको नियति छ । ‘गजेट’ राष्ट्रियता जगेर्ना नगर्ने शासकप्रति खन्याइएको भुतभुते आगो हो । ‘नाट्य उत्तरोत्तर’ निरन्तर नाटक गर्ने नेपालीको चित्र हो । ‘ग्लोबल वार्मिङ’ आमा पृथ्वीमाथि अविवेकी बलात्कार गर्नेप्रतिको दर्िहलो प्रहार छ र भन्छ ‘महाशक्तिको राजनीतिले ब्लाक सीमै गएर विश्रान्ति लिनुुपर्छ’ । गौसला छब्बिस, अभेद्य, साइँली र सूक्ष्मसत्ता, क्यान्टोन्मेन्टमा उदारवाद, ज्ञान, जेरुसेलम, सुकरात र रेनेसा, शम्भवामी, कालो पोखरी सबै सत्ता, शासन र शासकका वेथितिप्रति घोपेचका तीर हुन् । ‘विकनीको मौसम’ ले विधि, न्याय, शासन र समयलाई राम्ररी नङ्ग्याएको छ ।
‘इब्राहिमको घोडा र बिकिनीहरू’का विषय यायाम व्यापक फराकिलो छ । अन्तरिक्षदेखि धरती, समाजदेखि शासन, प्रकृति र प्रविधि सबैतिर फैलिएको छ । ‘इब्राहिमको घोडा र बिकिनीहरू’ विगत, वर्तमान र भविष्य विवेचित–व्यङ्ग्यित छ । विज्ञान–ज्ञान, सिद्धान्त–शास्त्र, पुराण–प्रविधि, नीति–विधिलाई विषयको विम्बचेतले उतारिएका छन् । बेथिति खोतल्न प्रकृतिका अवयव, उपमा उपमेय, किंवदन्ती–उक्ति, संरचना वा अमूर्तको सहारा लिइएको छ । यथार्थका जगमा कल्पनाको उडान छ, तीक्ष्ण चेत र दृष्टि गहनताले लघुकथा रोचक—घोचक–सोचक बनेका छन् । लघुकथा भनिए पनि कविताका भाषामा कथिएका छन् । यस अर्थमा कथाकार महेशमाथि कवि महेश व्यक्तित्वको हाबी छ । उनी कथामा पनि कवितै लेख्छन् ।
हामीले युुगौदेखि पढ्दै, सन्दै आएका कथाहरू मनसँग निकै नजिक थिए, मनलाई भावविह्वल बनाएर कब्जा गर्थे । मनभित्रका कोमल बबल बन्थे । लघुकथाहरू मनभन्दा मष्तिष्कसँग बढी नजिक छन् । मनलाई पनि प्रभाव पार्छन् तर, मस्तिस्कलाई रनाहा छुटाउने, रहस्यमा पुुर्याउने चेतचिन्ता लघुकथाको धर्म हो । महेशका लघुकथाको मष्तिष्कसँगको नाता ठ्याम्मै यसै प्रवृत्तिमा छ । लघुकथा गद्यात्मक हुन्छ तर निबन्धजस्तो उन्मुक्त र कथाविहीन भने हुँदैन भन्ने मान्यता महेश प्रसाईका कथामा लागू हुन्न ।
‘फूलैफूूलका आलापहरू’का रेच्की गल्प हेरौं वा ‘एउटा कथाको पुनर्जन्म’ वा ‘अतिरिक्त स्वरहरू’ ती कविता–निबन्ध हुँदै ‘इब्राहिमका घोडा र बिकिनीहरू’ मा आइपुुग्दा कवितताकथा बन्न पुुगेका छन् । भावचित्र बन्ने दिशामा पनि छन् । झिनो बन्दै गएको कथानकलाई घटनारेसाको पछुल्याइ, परिवेशका मूर्त–अमूर्त अवयवको संयोजनले पाठक मनलाई तरङ्गित पार्छ । कविताशिल्पले प्रस्तुतिमा छुुट्टै स्वाद दिन्छ । जसरी लेखियोस्, तिनले चेतनालाई द्वन्द्वित तुल्याउने काम गरिरहन्छन्, रहस्य जन्माउन र प्रभाव प्रतिध्वनित गराउन भुल्दैनन् । संक्षिप्त भैकन पूर्ण त छँदैैछन्, परिपुष्ट र सुसङ्गठित छन्, तर संरचनाको विधान तोडिएको छ । लक्ष्य र प्रभावको एकत्व छ । प्रतीकात्मक, विम्वात्मक छन् । तीखा तीरका व्यङ्ग्य छन्, तीक्ष्ण र तीव्र अभिव्यक्ति छ ।
‘फूलैफूलका आलापहरू’ (रेच्की गल्प)मा महेश प्रसाई आख्यान कवितामा देखिएका थिए । कथाबस्तुु प्रस्ुतति कविताकरण गरेका थिए । समालोचक दयाराम श्रेष्ठनले भन्नुुभए जस्तै महेश प्रसाईका लघुकथा, रेच्की गल्प याने कि खुद्रा कथा प्रतीक र अन्योक्ति दुवै तहबाट गरेका छन् । उनक कथा पढिसकेपछि मलाई जस्तै अरू पाठकलाई पनि प्रतिध्वनि आइरहन्छ होला । पढाइको अवधिमा मात्र उनको रचनाधर्मिता सीमित रहँदैन, पछिसम्म भावसंवेगमा सहभागी हुनैपर्ने दर्हो मनोद्वेग छाडेर जान्छ । ‘फूलैफूलका आलापहरू’मा ‘छाया र छाया’, ‘कटाक्षेप’, ‘भगवान’हरू कविताकथाका विज थिए, ‘कुमुदाग्नि’ ‘फूलैफूलका आलापहरू’को रचनाधर्मिता कायम छ । तर ‘अतिरिक्त स्वरहरू’ र ‘एउटा कथाको पुनर्जन्म मा’मा भने ‘इब्रहिमको घोडा र बिकिनीहरू’ को बाटो पैलिइसकेको छ । यहासम्म आइपुुग्दा कथाकार महेश प्रसाई कविताशिल्पले कथाकारिता निथ्रुक्क भिजिसकेका छन् ।
उनका रेच्की गल्पहरू कथाशास्त्र र सिद्धान्तको बाटो नाघेर अर्को गोरेटो बनाउन पुुग्छ । स्वच्छन्दतामा राङधाङ गरिरहेका छन् । सँधै घटिरहेने घटनाको आख्यानीकरण, आफैँ समीपको पात्रको चारित्रीकरण र जीवनका गति र उच्छवासमा कथा देख्ने दृष्टिका कारण प्रत्येक कथासाथ कथाकार आफैँ छन् । परिणामत: ती कथाका शास्त्रीय परम्परा पर कथाको डिस्कोर्स खोजिरहेका छन् । भोगिएको जीवन शास्त्र र सिद्धान्तमा छैन । साधनामा स्वयम्को नैरन्तरिक समर्पण छ, नैरन्तिर्यिक आत्मोत्सर्ग छ, व्यक्तित्वको नैरन्तिरिक विलोपन छ । कथाकारकै शब्द सापटी नलिई सुखै पाइनँ । उनक लघुकथामा रङ छ । रङवस्त्र छ । बिम्ब छ । बिम्बानुुभूति छ । बिम्बकारिता छ । कालचिन्तनका पदचापहरू छन् । जीवन निवृत्ति छ । जीवनकारिताका रूप र बुनोट छन्् । पीडा वेदनाका घनीभूत अभिव्यत्ति छन् । जीवन सङ्गीतका झन्कारहरू छन् । राग–अलङकार पनि छन् । परिस्कार पनि छन् । डिस्कोर्षले खोज्ने परिमार्जन नै हो । विचार, बौद्धिकता र व्यङ्ग्यले खोज्ने विनिर्माण नै हो । तर उनका लघुकथाहरू लघुकथै होइनन् कि भन्ने प्रश्न पनि बाँकी छ । लघुकथामा प्रयोग भएका मिथकहरूबाट नेपाली पाठक त्यति परिचित छैनन् । निकै बौद्धिक र एव्ष्ट्र्याक्ट पनि भएकाले सामान्य पाठकले कथालाई बचाउदैन, दोहोर्याइ, तेहर्याइ पढ्नु पर्छ । यसले पाठकप्रति न्याय गयो त भन्ने प्रश्न छ । तर एव्ष्ट्र्याक्ट भएकाले पाठकलाई आफ्नै स्तरमा अर्थमा बुझ्ने स्वायत्ततता पनि दिएको छ ।
महेश प्रसाईका लघुकथाले दिने सन्देश के पनि हो भने कथाहरू रहस्यात्मक, वैचारिक र हार्दिक हुँदाहुँदै गतिशील पनि हुन्छन्, ती मानिसका चेतना र सिकाइका शक्तिशाली औजार हुन् । मनमा प्रभाव, आँखामा दृष्टि र मस्तिष्कमा चेतना छाड्ने गतिशील शक्तिका कारण लघुकथाहरू समय, समाज र सभ्यताका सम्बन्ध सूत्र हुन् । अनन्त उत्कण्ठा मानवीय चेतनाको वृत्ति हो, आभ्यान्तरिक भोक र जागरणको जुर्मुराइ हो, कथाको गतिशील शक्ति त्यसको आधार हो । महेश प्रसाईका कथाले दिने सन्देश यही हो । कथाकार समयको यात्रामा छन्, समयचेत सन्देश कथा हो । कथामा कालचिन्तन हुन्छ, समकालीन स्वरको निगरानी हुन्छ । समाजमा ठूला स्वर र शक्तिशाली गर्जनले दबाएर राखेका कुराको उत्खनन्–नङ्ग्याइ हुन्छ । त्यति मात्र होइन, अपेक्षाको विम्बानुुभूति हुन्छ र एउटा छुट्टै संसार रच्ने शक्ति हुन्छ । महेश प्रसाईको कथाकर्मले त्यसै गर्न खोजेको छ । ‘इब्राहिमको घोडा र बिकिनीहरू’ समयको जोधाहा घोडा र विकिनी वस्त्रमा उत्ताउलिएको बैंस हो, जसको पहिलो अध्ययन, आस्वाद र विवेचना यस्तै रह्यो ।