
अर्जेन्टिनाकी उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डी किर्चनरको हत्या गर्न खोज्ने एक व्यक्तिलाई पक्राउ गरिएको छ ।
भीडभाड भएको ठाउँमा ती व्यक्तिले किर्चनरको टाउकोमा बन्दूक ताकेका थिए । उनले ट्रिगर दबाएको भए पनि गोली नचलेकाले किर्चनर जोगिइन् । बन्दूकमा पाँचवटा गोली थिए ।
राजधानी ब्युनर्स आयर्समा घरबाहिर समर्थकहरूलाई अभिवादन गरिरहेकी किर्चनरको ज्यान लिने प्रयास गरिएको हो । उनलाई कुनै चोटपटक लागेको छैन ।
‘एकजना व्यक्तिले उनको टाउको ताकेर बन्दूक निकाले अनि ट्रिगर दबाए,’ राष्ट्रपति अल्बर्टो फर्नान्डेजले बताए । ‘गोली नचलेकाले क्रिस्टिना जिउँदै छिन् ।’
आफूहरूले सन् १९८३ मा लोकतन्त्र पुनर्बहाली गरेयताकै सबभन्दा गम्भीर घटना भएको उनले बताए । यस घटनाको निन्दा गर्न उनले राजनीतिक नेता र समाजलाई आग्रह गरेका छन् ।
बन्दूक ताक्ने ब्राजिली पुरुषलाई घटनास्थलमै पक्राउ गरिएको छ ।
किर्चनर विरुद्ध अदालतमा भ्रष्टाचारको मुद्दा चलिरहेको बेलामा विपक्षी दलहरूले उनीविरुद्ध कठोर शाब्दिक हिंसा गरिरहेका छन् । केही अतिवादी विपक्षी राजनीतिकर्मीहरूले किर्चनरका लागि मृत्युदण्ड पुनः ल्याउनुपर्ने बताएका छन् ।
किर्चनर अर्जेन्टिनाकी शक्तिशाली नेत्री हुन् । उनका समर्थक र विरोधीहरू उत्तिकै छन् ।
सन् २००७ देखि २०१५ सम्म राष्ट्रपति हुँदा उनले आफ्ना निकट साझेदारलाई सडक निर्माणको ठेक्का दिलाएर भ्रष्टाचार गरेको आरोप छ ।