
बलिउडमा केही समययता फिल्महरू धमाधम फ्लप भइरहेका छन् ।
आमिर खानको लाल सिंह चड्ढा र अक्षय कुमारको रक्षा बन्धनले राम्रो व्यापार गर्ने अपेक्षा थियो तर दुवै सुपरफ्लप भए ।
तैपनि लाइगरले हल भर्ला भन्ने आशा वितरक प्रदर्शकहरूले गरेका थिए । तर फिल्मका बारेमा दर्शकहरूको प्रतिक्रिया नकारात्मक रह्यो । सप्ताहान्तमा फिल्म अलिक चलेको भए पनि सोमवार फिल्म ध्वस्त भयो ।
दोबारा लगायतका फिल्मको त के कुरा गर्नु ?
बलिउड फिल्महरूलाई शनिको दशा लागेपछि भारतका केही सिनेमाघर सञ्चालकहरूले अस्थायी रूपमा हल बन्द गरेका छन् ।
एक फिल्म हल सञ्चालकले बलिउडहंगामालाई बताए, ‘फिल्महरूले अपेक्षाकृत व्यापार नगर्दा धेरै स्क्रीन चलाउनुको औचित्य छैन । आजदेखि केही मल्टिप्लेक्सहरूले एकदुईवटा बाहेकका स्क्रीन बन्द गर्नेछन् ।’
फिल्म प्रदर्शक तथा वितरक अक्षय राठीले बताए, ‘यस पेशामा रहन कि टिकटको मूल्य बढाउनुपर्छ कि खर्च घटाउनुपर्छ । कर्मचारीलाई तलब दिनैपर्यो । अब सञ्चालन खर्च नै घटाउने हो । अहिले कतिपय फिल्ममा दर्शकै नहुँदा त्यो फिल्म देखाउँदा हलको खर्च समेत उठ्दैन । त्यसैले स्क्रीन बन्द गर्नु नै राम्रो उपाय हो ।’
मुम्बईका जी७ मल्टिप्लेक्सहरूमध्ये एकले एउटा हल अस्थायी रूपमा बन्द गरेका छन् । त्यो हलको सीट क्षमता एक हजार छ । त्यति धेरै दर्शक तान्न सक्ने फिल्महरू नै आइरहेका छैनन् ।
जी७ मल्टिप्लेक्सका कार्यकारी निर्देशक मनोज देसाईले बलिउडहंगामालाई बताए, ‘के गर्नु ? कुनै फिल्म गतिलो छैन । अब यो हप्ता त फिल्म नै आएको छैन । अर्को शुक्रवारसम्मका लागि गेटी र ग्यालेक्सी हल बन्द गर्छु ।’
गुजरातको द फ्राइडे सिनेमा नामक हलका सञ्चालक कीर्तिभाइ वागसियाले पनि गतिलो फिल्म नआएकाले हल चलाउन गाह्रो परेको बताए ।
अब अर्को शुक्रवार आउन लागेको फिल्म ब्रह्मास्त्रबाट हलवालाहरूले पैसा कमाइने आशा गरेका छन् ।