०७ साउन २०८३, बिहीबार

मकवानपुर २ बाट कांग्रेस सहमहामन्त्री डिना र जयराम लामिछानेको नाम सिफारिस

मकवानपुर २ बाट कांग्रेस सहमहामन्त्री डिना र जयराम लामिछानेको नाम सिफारिस

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेस मकवानपुरले उम्मेदवारको नाम सिफारिस गरेको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र जयराम लामिछानेको नाम सिफारिस गरिएको छ । 

कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ (ख) ले प्रतिनिधि सभाका लागि डीनाको नाम सिफारिस गरेको हो भने मकवानपुर २ (क)ले लामिछानेको नाम सिफारिस गरेको हो । प्रदेशसभा प्रत्यक्षतर्फ भने २ (ख) बाट ४ जनाको नाम सिफारिस गरिएको छ । प्रदेश सभातर्फ बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, जिल्ला सभापति बुद्ध लामा, शंकर न्यौपाने र ईश्वर पाठकको सिफारिस गरिएको हो । 

यस्तै, क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभातर्फ ९ जनाको नाम सिफारिस गरिएको छ । प्रदेश सभाका लागि भीम लामा, यतिराज सापकोटा, ईश्वरनाथ पौडेल, महेन्द्र राउत, योगेन्द्रमान श्रेष्ठ, गोपीराम बल, राज मैनाली, ओमबहादुर बस्नेत र रन्जन कठायतको नाम सिफारिस गरिएको हो । 

उक्त क्षेत्रबाट गठबन्धनमा रहेको दल नेकपा एकीकृत समाजवादीले पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडाको नाम सिफारिस गरिसकेको छ । नेकपा माओवादी केन्द्रले भने प्रतिनिधिसभा प्रत्यक्षतर्फ रामनरायण विडारीलाई उम्मेदारी बनाउने चर्चा छ । नेकपा एमाले र राप्रपालगायत दलहरूले भने हालसम्म उम्मेदवार चयन गरेका छैनन् । 

उक्त क्षेत्रबाट ०४६ सालपछि भएका सबै निर्वाचनमा एमाले विजयी हुँदै आएको छ । २०४८, २०५१, २०५६ र २०७४ को निर्वाचनमा खतिवडा विजयी भएका थिए । गत निर्वाचनमा एमालेबाट खतिवडाले ४६ हजार ४८१ मत प्राप्त गर्दा कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय (डिना) ले ३४ हजार ९० मत प्राप्त गरेकी थिइन् । खतिवडा हाल नेकपा एमाले विभाजनसँगै नेकपा एसमा रहेका छन् ।

कमेन्ट गर्नुहोस्