
नेकपा (माओवादी केन्द्र) गोरखाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित चारजनाको नाम सिफारिश गरेको छ ।
क्षेत्र नम्बर १ मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित तीन नेताको नाम सिफारिश भएको छ ।
पार्टी कमिटीको बिहीवार बसेको बैठकले क्षेत्र नम्बर २ बाट नारायणकाजीसहित सचिव हितराज पाण्डे तथा केन्द्रीय सदस्यद्वय चुडामणि खड्का र लेखनाथ न्यौपानेको नाम सिफारिश गरेको एक नेताले लोकान्तरलाई जानकारी दिए ।
हितराज पाण्डे दोस्रो संविधानसभामा सदस्य थिए भने खड्का प्रतिनिधिसभा सदस्य छन् । अखिलका पूर्वअध्यक्ष न्यौपाने अहिलेसम्म चुनाव लडेका छैनन् ।
सिफारिशमा परेका नारायणकाजी राष्ट्रिय सभाको सदस्य छन् । उनको कार्यकाल ४ वर्ष बाँकी छ । प्रतिनिधिसभामा चुनाव लड्न उनले राष्ट्रिय सभाबाट राजीनामा दिनुपर्छ ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बाबुराम भट्टराईसँग पराजित भएका श्रेष्ठ नेकपा कालखण्डमा गण्डकी प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भएका थिए ।
गोलाकारभित्रको हँसिया हथौडा चिह्नबाट चुनाव लड्ने गरी माओवादीसँग सहमति गरेका बाबुरामको क्षेत्रबाट नारायणकाजीको नाम सिफारिश भएको हो ।
माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बाबुराम गोरखा २ बाटै चुनाव लड्ने सहमति गर्दा नारायणकाजी पनि सँगै थिए ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि शुरूमा एमाले र माओवादीसँग गठबन्धन गर्न खोजेका बाबुराम गोरखा– २ नारायणकाजीले नछाडेपछि कांग्रेससँग तालमेल गर्न पुगेका थिए । नेपाल समाजवादी पार्टीले भने गोरखा २ बाट बाबुराम नै चुनाव लड्ने सहमति भएको दाबी गरेको छ ।
गोरखा १ बाट सिफारिशमा परेपनि प्रचण्डले चितवनबाटै चुनाव लड्ने बताएका छन् । स्थानीय तह निर्वाचनमा गोरखामा राम्रो नतिजा हासिल गरेको माओवादीले मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा दुवै सीट जित्ने दाबी गरेको छ ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा गोरखा १ बाट हरिराज अधिकारी विजयी भएका थिए । गोरखा १ बाट प्रचण्ड, अधिकारीसहित सुनिता सिंखडाको नाम पनि प्रत्यक्षका लागि सिफारिश भएको छ ।