२३ असार २०८३, मंगलबार

राष्ट्रिय सभाबाट पनि जस्ताको तस्तै पारित भयो नागरिकता विधेयक

राष्ट्रिय सभाबाट पनि जस्ताको तस्तै पारित भयो नागरिकता विधेयक

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि पठाएको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ राष्ट्रिय सभाबाट पनि जस्ताको तस्तै पारित भएको छ । शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकबाट विधेयक बहुमतले पारित भएको हो । 

राष्ट्रपतिले सन्देशसहित पठाएको विधेयक प्रतिनिधि सभाबाट जस्ताको तस्तै पारित भएको थियो । नेकपा एमालेले राष्ट्रपतिले पठाएको सन्देशलाई समेट्न आग्रह गरे पनि सत्तापक्षले अस्वीकार गरेपछि जस्ताको तस्तै पारित भएको हो । एमालेले कमसेकम फरक मतलाई समेटेर विधेयक पारित गर्न आग्रह गरेको थियो । 

बिहीवार बसेको पहिलो बैठकमा विधायन व्यबस्थापन समितिको प्रतिवेदन पेश गरिएको थियो । राष्ट्रिय सभाले समितिमा पठाउने कर्मकाण्ड पूरा गरे पनि विधेयक जस्ताको तस्तै पारित भएको हो । 

प्रतिनिधि सभामा उत्पत्ति भई पारित भएको विधेयक राष्टिय सभाबाट पारित भएको सन्देश प्रतिनिधि सभामा पठाइने छ । त्यसपछि प्रतिनिधि सभाका सभामुखले प्रमाणीकरण गरेर राष्ट्रपतिकोमा पठाउनेछन् । 

राष्ट्रपतिले दोस्रो पटक विधेयक फिर्ता गर्ने संवैधानिक व्यवस्था छैन । त्यसअघि राष्ट्रिय सभामा भएको छलफलमा गृहमन्त्री बालकृष्ण खाणले नागरिकताविहीन ७ लाख जनाको समस्या सम्बोधन गर्न विधेयक ल्याइएको बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्