२७ जेठ २०८३, बुधबार

नाम राख्न नसकेको भन्दै जनतासँग हात जोडेर माफी माग्दै बिदा भए प्रदेश सांसदहरू

नाम राख्न नसकेको भन्दै जनतासँग हात जोडेर माफी माग्दै बिदा भए प्रदेश सांसदहरू

प्रदेश १ का प्रदेश सभा सदस्यहरूले हात जोडेर जनतासँग माफी मागेका छन् । प्रदेश सभाको पहिलो कार्यकालबाट प्रदेशको नाम राख्न नसकेको भन्दै उनीहरूले हात जोडेर माफी मागेका हुन् । 

शुक्रवार भएको प्रदेश सभा बैठकमा बोल्ने सबै दलका संसदीय दलका नेताहरूले नाम राख्न नसकेको भन्दै प्रदेशबासीसँग माफी मागेका हुन् । सत्ता पक्ष तथा प्रतिपक्षी दलका नेताहरूले नै नाम राख्न नसकेको विषयमा आम–ग्लानी भएको बताएका छन् । 

सबै दलले अडान नछाडेका कारण नाम राख्न नसकेको प्रदेश १ का निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यले बताए । उनले प्रदेश सभामा बोल्दै उनले अधिकार तल दिने भनेर भाषण गर्ने तर, अधिकार माथि केन्द्रित गरेकाले नाम राख्न नसकिएको बताए । ‘अधिकार तल दिने भनेपछि म पनि प्रदेशमै आए, तर केन्द्रमा सत्तामा बस्नेले अधिकार मुठीमा राखे’, उनले भने । 

भूगोल पहिचानमा खुलेको एमाले अन्तिम बैठकमा भने जातीय पहिचानको विषमा बोलेको छ । आचार्यले किराँतको शब्द जात नभई सभ्यता भएको बताए । किराँत सभ्यतालाई तोडमोड गर्दा विवाद भएको उनले बताए । जिम्मेवारी, साइज र हैसियतअनुसार नाम नटुंग्याएको विषयमा दोषको जिम्मा सबैले लिनुपर्ने उनको भनाइ छ । प्रदेश जोगीले जस्तो कमण्डलु बोकेर थाप्दै हिँड्ने र दिएको खाने खालको भएको समेत उनले बताए । 

नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले प्रदेशको नामकरणको विषय दुई तिहाइको सरकारले ल्याउन नसकेको आरोप लगाए । उनले नामकरणको विषय प्रक्रियामा लानै नसकेकोमा असन्तुष्टि व्यक्त गरे । उनले रोष्टमबाट नै प्रदेशको नाम राख्न नसकेको भन्दै हात जोडेर प्रदेशवासीसँग माफी मागेका थिए । नाम नटुंगिनु आफूहरूको असफलता रहेको उनको भनाइ थियो । 

नेकपा (माओवादी केन्द्र) संसदीय दलका तर्फबाट बोल्दै सांसद धिरेन्द्र शर्माले नामकरणको विषय जनताको चासो भए पनि गर्न नसक्नु कमजोरी भएको बताए । नामकरणमा सबै दलले जनतालाई धोका दिइएको बताउँदै उनले पहिचानको विषयलाई साम्प्रदायिक हो भनेर प्रचार गर्दा नामको टुंगो लगाउन नसकेको दाबी गरे । उनले प्रदेश सभाले बनाएका कानून कार्यान्वनमा नआउनु गल्ती भएको बताएका छन् । 

नेकपा (एकीकृत समाजवादी) को तर्फबाट बोल्दै सांसद सरिता थापाले दुई तिहाइको सरकार संघदेखि प्रदेशसम्म टिक्न नसक्दा जनताको अपेक्षामा कुठाराघात भएको बताइन् । उनले नामकरण हुन नसकेको जस अपजस दलहरूको हैसियतअनुसार लिन तयार हुनुपर्ने बताइन् ।

बैठकमा बोल्दै जसपा संसदीय दलका नेता तथा प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले ठूलो दल एमाले भए पनि आफूले भनेकै हुनुपर्छ भन्दा घमन्ड देखाएकै कारण प्रदेशले नाम नपाएको बताए । वर्तमान गठबन्धन सरकारले पछिल्लो समय गरेको नामकरणको छलफल जति पहिले गरेको भए टुंगिन सक्ने सम्भावना रहेको उनको दाबी थियो । 

यस्तै राप्रपा संसदीय दलकी नेता इन्दिरा राईले प्रदेशको नामकरण हुन नसक्नु दुःखद पक्ष रहेको बताइन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णुमाया तुम्बाहाम्फेले प्रदेश अधिकार सम्पन्न हुनुपर्ने बताउँदै पालिकाहरू प्रदेश मातहत हुनु पर्नेमा जोड दिइन् । 

प्रदेश सभाको अधिवेशन शुक्रवारदेखि अन्त्य गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्