०६ असार २०८३, शनिबार

वालिङका महिला सामूहिक बाख्रापालनमा अग्रसर

वालिङका महिला सामूहिक बाख्रापालनमा अग्रसर
प्रतिकात्मक तस्वीर

स्याङ्जाको वालिङका महिलाले सामूहिक बाख्रापालनमा अग्रसरता देखाएका छन् ।

स्याङ्जाको वालिङ नगरपालिका–६ भरुवाका महिलाले बाख्रापालन गर्ने उद्देश्यसहित समूह गठन गरी सोहीमार्फत बाख्रापालन थालेका हुन् ।

स्थानीय १० महिला आवद्ध भई ‘भरुवा महिला बाख्रापालन समूह’ दर्ता गरी गत असारबाट व्यावसायिक बाख्रापालन थालिएको हो ।

आर्थिक उपार्जनसित जोडिदै आत्मनिर्भर हुन सकिन्छ भनेर गाउँका महिला भेला भई समूह बनाएर व्यवसाय थालेको समूहकी अध्यक्ष तुलसीकुमारी थापाले बताइन् । ‘आफूलाई वा परिवारलाई आवश्यक पर्ने सामान्य खर्च जुटाउन श्रीमान्मा मात्रै आश्रित हुनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ भन्ने लाग्यो,’ उनले भनिन्, ‘गाउँका इच्छुक महिला दिदीबहिनीको समूहमा कुरा राख्यौं, छलफल गर्‍यौं र सामूहिक बाख्रापालन थाल्ने निष्कर्षमा पुगेका हौं ।’

गाउँ नजिकै वनजंगल हुँदा खासै घाँसको समस्या नहुने र बजारीकरणको समस्या नभएकाले बाख्रापालनलाई व्यावसायिक रूपमा अगाडि बढाउन महिलाहरू सक्रिय भएर लागेका हुन् । ‘गाउँ नजिकै वनजंगल हुँदा पनि घाँसको समस्या छैन,’ उनले भनिन्, ‘सामूहिक रूपमा बाख्रा चराउन, औषधि उपचारसहित उत्पादन भएका खसी बोका बिक्रीका लागि पनि सहज हुने विश्वासमा छौं ।’

समूहमार्फत अहिले १० घरमा ६–१० वटा बाख्रापालन गरिएको छ । शुरूआती चरणमा थोरै संख्याबाट व्यवसाय थालेपनि आगामी दिनमा संख्या बढाउने समूहको योजना रहेको सचिव कृष्णचन थापाले बताइन् । ‘अब परम्परागत होइन, सामूहिक रूपमा उन्नत जातका बाख्रापालनतर्फ अगाडि बढेका छौं,’ उनले भनिन्, ‘उत्पादन गर्न सके बजारको कुनै समस्या नभएको र तुरुन्तै आम्दानी हुने भएकाले पनि समूहको रोजाइमा बाख्रापालन परेको हो ।’

समूह सञ्चालनका लागि बेला–बेलामा बैठक तथा छलफल हुने गरेको छ । समूहकै कामको खर्चका लागि मासिकरूपमा १०० रुपैयाँ संकलन गरेर सामान्य खर्चहरू चलाउने गरिएको सचिव थापाले बताइन् ।

पहिले घरघरमा १–२ वटा बाख्रापालन गरेका महिलालाई व्यावसायिकतातर्फ लाग्न वालिङ नगरपालिकाले अभिप्रेरित गरेको हो । नगरपालिकाले बाख्रापालनका लागि महिला समूहलाई आवश्यक तालिम, प्राविधिक सल्लाह तथा परामर्श, औषधि, उन्नत जातको घाँसको बीउ उपलब्ध गराएको पशु विकास शाखा अधिकृत देवकुमारी श्रेष्ठले बताइन् । नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा खोर मर्मत तथा निर्माणका लागि जनही १०/१० हजार रुपैयाँ नगद र उन्नत जातको एउटा बोयर बोका उपलब्ध गराएको उनले बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्