नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृृद्धिको सन्देश दिने आफ्नो सकंल्प रहेको बताएका छन् ।
नेपाल विद्युत् प्राधिकरणले भरतपुरमा शुरू गर्न लागेको वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको शनिवार शिलान्यास गर्दै अध्यक्ष प्रचण्डले संकल्पमा जनताको निरन्तर सहयोग रहने कुरामा आफू विश्वस्त रहेको बताए ।
जनताको चाहना विकास र समृद्धि भएको उल्लेख गर्दै उनले भने, ‘शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षा जनताको चाहना हो ।’ भूमिगत विद्युतीकरणले जनताको सुरक्षा र नगरको सौन्दर्यता बढाउने उनको भनाइ थियो ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरपालिकाको प्रयास र समन्वयका कारण छिटो काम शुरू भएको भन्दै ठेकेदार कम्पनीलाई समयमा काम सम्पन्न गर्न आग्रह गरिन् । सो अवसरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले परियोजनाको काम २ वर्षमा सम्पन्न गर्ने गरी काम गर्नुपर्नेमा जोड दिइन् । प्राधिकरणले अहिले १६ अर्ब नाफा गरेको उनले जानकारी दिइन् ।
अहिले दैनिक १० करोडदेखि १२ करोडसम्म बिजुली बेचिरहेको उनको भनाइ थियो ।
भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रशेन अधिकारीले परियोजनाका कारण नगरवासीलाई गुणस्तरीय सेवा दिन सहज हुने बताए । भरतपुरको पुलचोकबाट गोन्द्राङसम्मको ६ लेन सडक र बाइपास सडकमा भूमिगत विद्युतीकरण गर्न लागिएको हो । निर्माणको जिम्मा भारतको टाटा प्रोजेक्ट लिमिटेडलाई दिइएको छ । कम्पनीले भरतपुर र पोखरामा भूमिगत विद्युतीकरणको काम गर्नेछ । ठेक्काको रकम २ अर्ब ५० करोड रुपैयाँ हाराहारी रहेको आयोजनाले जनाएको छ ।
भरतपुर बाइपास सडकको पुरै र ६ लेनको पुलचोकबाट केन्द्रीय बस ट्रमिनलसम्म सबै तार भूमिगत गरिनेछ । बसपार्कबाट गोन्द्राङसम्मको ३३ केभीएलाई मात्र पहिलो चरणमा भूमिगत गरिनेछ । सम्झौतामा काम गर्दा खनिएका सडक मर्मत गर्नुपर्ने उल्लेख छ । सन् २०२४ जनवरीसम्म काम सम्पन्न गर्नुपर्नेछ ।
भरतपुरका २ सडक गरी ११ किलोमिटर क्षेत्रमा विद्युत् भूमिगत गर्न लागिएको हो । एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले आयोजना अघि बढाएको हो ।