
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले एक वर्षभित्रै देशलाई कंगाल बनाइसकेको आरोप लगाएका छन् । सुनसरीमा पार्टीको कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै उनले गठबन्धन सरकारले मुलुकलाई बर्बादीतिर लगिरहेको आरोप लगाएका हुन् ।
उनले मंसिर ४ गते एमालेले बहुमतको सरकार बनाउने दाबी गरेका छन् । एमालेले बहुमतको सरकार बनाउनै पर्ने आवश्यक्ता रहेको जिकिर गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकारले एक वर्षमा नै देशलाई कंगाल बनाएको आरोप लगाए ।
उनले अघिल्लो सरकारले ल्याएका आयोजनाहरू कटौती गरेर बेहाल बनाएको दाबी गर्दै वर्तमान सरकारले जात–जातलाई भिडाएर आफ्नो दुनो सोझ्याउने प्रयास गरिरहेको बताए । ‘मंसिर ४ गते एमालेले बहुमतको सरकार बनाउँदै छ । बनाउनै पर्छ किनकी यो एक वर्षमा गठबन्धन सरकारले मुलुकलाई बेहाल बनाइसकेको छ । त्यस कारण मुलुकको समग्र विकासका लागि एमालेको जित आवश्यक छ’, अध्यक्ष ओलीले भने ।
मंसिर ४ गते हुने निर्वाचनमा देश, जनता, लोकतन्त्र, राष्ट्रियता, स्वाधिनता, स्वतन्त्रताले हार्न नहुने ओलीको भनाइ थियो । उनले सरकारमा रहेका दल त्यागेर अहिले नेकपा एमाले प्रवेश गर्नेको लहर चलेको पनि दाबी गरेका छन् ।