
सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसका विजयकुमार गच्छदारको एकल नाम सिफारिस भएको छ । कांग्रेस सुनसरी क्षेत्र नम्बर ३ को बैठकले भ्रष्टाचार आरोपमा सांसद पदबाट निलम्बित गच्छदारको एकल नाम सिफारिस गरेको हो ।
बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि गच्छदार निलम्बन परेका हुन् । उक्त मुद्दा अहिले पनि विशेष अदालतमा विचाराधीन छ ।
सुनसरी ३ बाट नेकपा एमालेले भने भगवती चौधरीलाई नै उम्मेदवार बनाउने लगभग पक्का छ । दुई पटक गच्छदारसँग पराजित भएकी उनको यसपटक पनि गच्छदारसँग नै चुनावी भिडन्त हुने देखिन्छ ।
अघिल्लो पटक गच्छदारले ३८ हजार ९७२ मत ल्याउँदा चौधरीले ३८ हजार ६५१ मत पाएकी थिइन् ।
यो क्षेत्र गच्छदारले लगातार ६ पटक चुनाव जितेको क्षेत्र हो । उनी २०४८, २०५१, र २०५६ को निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए भने २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा मधेसी जनअधिकार फोरम र २०७० सालको संविधान सभा निर्वाचनका मधेसी जनअधिकार अधिकार फोरम (लोकतान्त्रिक)बाट चुनाव जितेका थिए । उनी उपप्रधानसहित पटकपटक मन्त्री बनेका थिए ।
फेरि कांग्रेसमा फर्किएर उनले २०७४ सालमा पनि बाजी मारेका थिए ।