२६ जेठ २०८३, मंगलबार

जसले सांसदका रूपमा एकपटक पनि प्रदेशसभामा बोलेनन्

भदौ १९, २०७९
जसले सांसदका रूपमा एकपटक पनि प्रदेशसभामा बोलेनन्

संसद्लाई जनताको गुनासो सुन्ने थलो पनि भनिन्छ । आफ्नो क्षेत्रका जनताका समस्या र अभिमत लिएर संसद् भवन छिरेका सांसदहरूले त्यहाँ जनताको आवाज बोल्नुपर्छ ।

प्रदेश नम्बर १ को प्रदेशसभा अधिवेशन अन्त्य भएको छ । अब नयाँ निर्वाचित सांसदहरूले पदभार ग्रहण गरेपछि मात्र नयाँ कार्यकालको बैठक प्रदेश सभा भवनमा बस्नेछ ।

सदनको पाँच वर्षे कार्यकाल पूरा गरेर गत शुक्रवारदेखि सांसदहरू बिदा भइसकेका छन् । 

पाँच वर्षे कार्यकालमा प्रदेशसभामा केही सांसदले आफ्ना क्षेत्रका जनताका समस्या संसद्मा सुनाएनन् । एमाले सांसद जगदीश कुसियतले एकपटक पनि सांसदको हैसियतमा बोलेका छैनन् । 

मन्त्रीको हैसियतमा उनले सदनमा उठेका प्रश्नको जवाफ तथा मन्त्रीले सदनमा खेल्नु पर्ने भूमिका खेलेका छन् ।

संसद् सचिवालयले मन्त्रीको हैसियतमा जवाफ दिएको विषयलाई प्रदेशसभाको पाँच वर्षको तथ्याङ्कमा राखेको छैन । उनी सुनसरी क्षेत्र नम्बर ४ (क)बाट निर्वाचित भएका हुन् ।  

शून्य समय, सैद्धान्तिक छलफल, विशेष समय र दलको तर्फबाट बोल्ने सांसदहरूलाई मात्र तथ्यांकमा समेटिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रमोद विकले बताए । 

सचिवालयका अनुसार नेकपा एकीकृत समाजवादीका सांसद गणेशकुमार काम्बाङ पाँच वर्षमा जम्मा एकपटक मात्रै संसद्मा बोलेका छन् । 

उनी पाँचथर १ (क) बाट निर्वाचित भएका हुन् । पूर्व मुख्यमन्त्री शेरधन राईले पनि सांसदको हैसियतमा एकपटक मात्रै बोलेका छन् । उनी भोजपुरबाट निर्वाचित भएका हुन  ।

एमालेका तेजमान कन्दङ्वा दुईपटक मात्रै बोलेका छन् । उनी तेह्रथुमबाट निर्वाचित भएका हुन् । एमालेकै गुलेफुन खातुन संसद्मा तीनपटक मात्र बोलेकी छिन् ।

खातुनलाई अदालतले कीर्ते कागजमा दोषी ठहर्‍याएपछि उनले यसअघि राजीनामा दिइसकेकी छिन् । खातुन समानुपातिक सांसद हुन् । 

एमाले जीवन घिमिरे ३ पटक बोलेका छन् । उनी पूर्व सामाजिक विकास मन्त्री पनि हुन् ।

निवर्तमान मुख्यमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता भीमप्रसाद आचार्यले पाँचपटक मात्रै सांसदको हैसियतमा बोलेका छन् । 

एमालेका हिक्मतकुमार कार्की तीनपटक बोलका छन् । एमालेकी हिमादेवी बस्नेत तीनपटक, एमालेका टंक आङ्बुहाङ चारपटक संसद्मा बोलेका छन् ।

माओवादीबाट जितेका आङ्बुहाङ नेकपा विभाजित हुँदा एमालेमै बसेका थिए । उनलाई माओवादी केन्द्रले सांसदबाट हटाएको थियो । 

बस्नेत खातुनले राजीनामा दिएपछि केही महिनाअघि मात्रै सांसद बनेकी हुन । यसैगरी माओवादी केन्द्रका  पूर्णप्रसाद राजवंशी पाँचपटक र  एमालेका अम्मिरबाबु गुरुङ ६ पटक बोलेका छन् । 

पाँच वर्षको अवधिमा सदनमा दश पटकभन्दा कम बोल्ने सांसदको संख्या २६ रहेको छ । 

पाँच वर्षको अवधिमा शून्य समयमा सांसदहरूले ८८५, विशेष सयमा ५६, सैद्धान्तिक छलफल १०८२ र दलको तर्फबाट ६४ पटक बोलेका थिए ।

यो अवधिमा जम्मा २०८७ पटक सांसदहरूले विभिन्न विषयमा बोलेको सचिवालयको तथ्यांकले देखाएको छ । 

सबैभन्दा बढी एमालेका विमल कार्कीले संसद्मा बोलका छन् । उनले ७७ पटक बेलेका छन् । यस्तै एमालेकै राजकुमार ओझाले ७१ पटक बोलेका छन् । 

तुलनात्मक रूपमा भने कांग्रेसका सांसदहरू बढी सक्रिय देखिएका छन् । लामो समयसम्म प्रतिपक्षको भूमिकामा बसेकाले पनि उनीहरूले धेरै बोलेको अनुमान छ ।

कांग्रेसका सुयर्माराज राईले ६५ र केदार कार्कीले ५९ पटक बोलेका छन् । मन्त्री भएपछि भने कार्की प्रायः संसद्मा जान छाडेका छन् ।

माओवादीका मोहनकुमार खड्काले ६५ पटक बोलका छन् । बहालवाला मुख्यमन्त्री राजेन्द्र कुमार राईले सांसदको हैसियतमा २३ पटक बोलेका छन् । 

पाँच वर्षे अवधिमा प्रदेशसभाले ६२ वटा कानून निर्माण गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्