२७ असार २०८३, शनिबार

निजामती सेवा ऐनबारे सरकार गम्भीर छः देउवा

निजामती सेवा ऐनबारे सरकार गम्भीर छः देउवा
फाइल तस्वीर

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐन रुपान्तरित बनाएर ल्याउने विषयमा सरकार गम्भीर रहेको बताएका छन् । आइतवार नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस एवं पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नयाँ संघीय निजामती सेवा ऐनको सन्दर्भमा निजामति कर्मचारी युनियनलगायतले दिएको सुझावका विषयमा आफू जानकार रहेको बताउँदै उक्त सुझावलाई समावेश गरी समयसापेक्ष ऐन जारी गर्ने प्रतिबद्धता जनाए । 

प्रधानमन्त्री देउवाले सरकारी कार्यालयहरूमा अझै पनि नागरिकमैत्री काम हुन नसकेको भन्दै यसलाई तत्काल सुधार गरी जनतालाई बिना कुनै झन्झट चुस्त सार्वजनिक सेवा प्रवाह गर्न निर्देशन दिए । उनले निजामती सेवामा भ्रष्टाचार, अनियमितता हुन नदिन सम्बन्धित निकायले थप सक्रियताका साथ काम गर्न आवश्यक रहेको बताए । 

प्रधानमन्त्री देउवाले स्वस्थ, नतिजामुखी प्रशासन हुनुपर्ने भन्दै निजामती कर्मचारीहरूले विभिन्न समयमा भएका आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको पनि स्मरण गरे । उनले सरकारका कर्मचारी कुनै राजनीतिक दल विशेषको हुन नहुने भन्दै कार्यालयको कार्य सम्पादनमा कुनै पनि राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर प्रचलित कानूनको पूर्ण पालना गर्दै आफ्नो भूमिका निभाउन पनि निजामती कर्मचारीहरूलाई निर्देशन दिए । 

प्रधानमन्त्री देउवाले मुलुकमा राजनीतिक संघीयता सफलतापूर्वक कार्यान्वयनमा आइसकेको भए पनि यससँग तादम्य कायम हुने गरेर प्रशासनिक संघीयतालाई व्यवस्थापन गर्ने थप कार्यहरू गर्नुपर्ने स्थिति रहेको बताए । 

कमेन्ट गर्नुहोस्