
गुल्मी–१ बाट नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । एमाले गुल्मीको आइतवार बसेको बैठकले ज्ञवालीलाई प्रतिनिधि सभाका लागि सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला कमिटीका सचिव गणेश श्रीपालीले जानकारी दिए ।
ज्ञवाली पूर्वमन्त्री समेत हुन् । गुल्मी–१ बाट नेपाली कांग्रेसले चन्द्र भण्डारीसहित चार जनाको नाम सिफारिस गरेको छ ।
ज्ञवालीले र भण्डारीबीच यो क्षेत्रमा लामो समयदेखि प्रतिष्पर्धा हुँदै आइरहेको छ । २०७४ मा यो क्षेत्रबाट ज्ञवाली विजयी भएका थिए भने, २०७० मा ज्ञवालीलाई हराउँदै भण्डारीले जित निकालेका थिए ।
२०६४ को पहिलो संविधानसभा निर्वाचनमा भण्डारीलाई ज्ञवालीले पराजित गरेका थिए । क्षेत्र नम्बर २ मा पनि गोकर्ण विष्टको नाम सर्वसम्मत टुंगो लाग्ने प्रक्रियामा रहेको श्रीपालीले लोकान्तरलाई जानकारी दिए । गुल्मी २ बाट एमालेका विष्टसहित युवा नेता राजेन्द्र अर्याल पनि आकांक्षी छन् ।