
गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको फिल्म ‘गोर्खाः विनिथ द ब्रेभरी’को काठमाडौंमा विशेष शो गरिएको छ । शनिवार साँझ आयोजित शोमा कुलवीर थापाका छोरा, बुहारी तथा नातीहरूसहित परिवार उपस्थित थिए । शोमा सहभागिता जनाउन बेलायतदेखि कलाकारहरू समिर गुरुङ, गौमाया गुरुङ र स्टुअर्ट वाल्कर नेपाल आएका थिए ।
भदौ २४ गतेबाट प्रदर्शनमा आउने यस फिल्ममा थापाले जर्मनसँगको युद्धमा बहादुरीका साथ घाइते सैनिक उद्धार गरेको कथा प्रस्तुत गरिएको छ । सन् १९१५ सेप्टेम्बर २५ मा ब्रिटिश सेनाहरूले लुस, फ्रान्समा ठूलो आक्रमण गरेका थिए । उक्त युद्धमा दोस्रो बटालियन, थर्ड क्वीन अलेक्जान्ड्राको आफ्नै गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते बनेका थिए । तर, उनी बाँच्न सफल भए ।
घाइते भएको भोलिपल्टै अर्थात् २६ सेप्टेम्बरदेखि थापा पीडितहरूको उद्दारमा खटिए । यही घटनापछि उनलाई गोर्खाहरूका लागि पहिलोपटक भिक्टोरिया क्रस प्राप्त भयो । उनै कुलवीर थापाको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ ।

विशेष शोमा उपस्थित निर्देशक प्रदीप शाहीले आफ्नो कथा आफैँले भन्ने कोसिस गरेको बताए । जोखिम मोलेर विश्व शान्तिको लागि लड्ने पुर्खाहरूलाई श्रद्दाञ्जली दिन फिल्म निर्माण गरेको उनले बताए । साथै, थापाको जन्मस्थानसहित अन्य तथ्यहरू दस्तावेजहरूमा गलत उल्लेख रहेको बताउँदै फिल्म निर्माणको शिलशिलामा त्यस्ता दस्तावेजहरूमा समेत सही तथ्य राख्ने प्रयास गरेको उनले बताए ।
यस फिल्ममा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाहीलगायतको अभिनय छ ।
फिल्मको कथा निर्देशक शाही आफैँले लेखेका हुन् । लामो समयदेखि बेलायतमा बसेर फिल्म बनाउँदै आएका उनले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितिसकेका छन् । शाई प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा विनोद सुवेदी खत्री कार्यकारी निर्माताको रूपमा छन् भने निर्मातामा मधु गुरुङ र प्रयास गुरुङ छन् ।
यस फिल्ममा निक्को प्रताप गुरुङ र अमृत गुरुङको छायांकन, विश्व शाहीको संगीत, रुपेश गुरुङको सम्पादन, अश्रुती पटेलको कला निर्देशन, बेलेन सिलोगुल्लरको कलर, एरमान जम्बकको भीएफएक्स र रबिन श्रेष्ठको साउन्ड ट्रयाक छ । नेपाल प्रदर्शनभन्दा अगाडि फिल्मको यूके, अमेरिका, बु्रनाई, सिंगापुर र अष्ट्रेलियामा स्क्रिनिङ भएको थियो । नेपालमा यस फिल्मलाई आरआर फिल्मस् (रोहित–रत्न) ले वितरण गर्दैछ ।