०३ साउन २०८३, आइतबार

गुल्मी १ बाट ज्ञवाली सर्वसम्मत हुँदा २ मा गोकर्णलाई तगारो, तीन जनामध्ये कसले पाउलान् टिकट ?

गुल्मी १ बाट ज्ञवाली सर्वसम्मत हुँदा २ मा गोकर्णलाई तगारो, तीन जनामध्ये कसले पाउलान् टिकट ?

गोकर्ण विष्टले चुनाव जित्दै आएको गुल्मी क्षेत्र नम्बर २ बाट मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमालेबाट तीन जना सिफारिसमा परेका छन् । पूर्वमन्त्री गोकर्ण विष्ट, प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष अध्यक्ष राजेन्द्र अर्याल र एमाले प्रदेश कमिटी सदस्य शेषकान्त गौतमको नाम सिफारिस भएको हो । 

प्रस्तावित नाम क्षेत्र नम्बर २ कमिटीले सिफारिस गरेर जिल्ला कमिटिमा पठाएको छ । प्रस्तावित नाम जिल्ला कमिटीले टुंगो लगाएर केन्द्रमा पठाउने छ । एमाले जिल्ला कमिटी सदस्य रितबहादुर थापाका अनुसार अहिले जिल्ला कमिटीमा ३ जनाको नाम आएको र त्यसलाई जिल्लाले टुंग्याएर केन्द्रमा पठाउन लागेको बताए । 

‘अहिले जिल्ला कमिटीमा कमरेडहरूको नाम सिफारिस गर्नु भएको छ । त्यसलाई अन्तिम टुंगो लगाउन बाँकी छ’, सदस्य थापाले लोकान्तरसँग भने, ‘हामीले २२ गतेसम्म टुंगो लगाएर पठाउने तयारी गरेका छौँ ।’

नाम सिफारिस भएकामध्ये विष्ट ३ पटक सांसद र दुई पटक मन्त्री बनिसकेका छन् । नेकपा एमालेको सचिव विष्ट गुल्मी २ बाट बलियो दाबेदार हुन् । २०५६ सालमा नेपाली कांग्रेसका त्रैलोक्यप्रताप सेनलाई हराएर विष्ट सांसद भएका थिए । 

२०६४ सालको संविधान सभा निर्वाचनमा माओवादी केन्द्रका चन्द्रबहादुर ‘सागर’सँग चुनाव हारेका थिए । तर, २०७० सालको संविधान सभा चुनावमा विष्ट विजयी भए । २०७४ सालको संसदीय चुनावमा विष्ट नेपाली कांग्रेसका चन्द्रबहादुर केसीलाई पराजित गरेर सांसद भएका थिए ।

एमालेको भातृ संगठन प्रेस चौतारीका पूर्वअध्यक्ष अर्याल पहिलोपटक संसदीय चुनावमा उठ्नको लागी दौडमा छन् । अर्याल अहिले निर्वाचन क्षेत्रमा खटिएका छन् ।

उम्मेदवारको सिफारिसमा परेका शेषकान्त गौतम अहिले एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् । तर, गौतम चर्चामा आउनका लागि मात्रै नाम सिफारिस गरेको जिल्ला कमिटी सदस्यहरू बताउँछन् । अहिले सिफारिसमा परेका नेतालाई प्रदेशमा समेत व्यवस्थापन गर्नेगरी केन्द्रबाट निर्णय हुँदा विष्टले नै टिकट पाउने सम्भावना प्रवल रहेको एमाले स्रोत बताउँछ । 

विगतमा एमालेमै रहेर राजनीतिक यात्रा बलियो बनाएकी नेकपा (एस)की सांसद तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीका कारणले एमालेबाट संघीय चुनावमा उठ्ने उम्मेदवारको टाउको दुखाइको विषय बनेको छ । 

गठबन्धनबाट साझा उम्मेदवार बन्ने आशमा झाक्री घरदैलोमा गएर आफ्नो प्रभाव बढाइरहेकी छन् । लामो समयदेखि विष्टको प्रभाव रहेको क्षेत्रमा नयाँ अनुहारको चाहना भएकाले पनि एमालेलाई झाक्री ‘थ्रेट’ देखिएको महसुस छ ।

एमालेका नेताहरू भने विगतमा गरिएको काम र विष्टको व्यक्तिगत प्रभावका कारणले पनि चुनाव जित्ने दाबी गरिरहेका छन् । भर्खरै सम्पन्न स्थानीयतहको चुनावमा एमालेको उपस्थिति कमजोर देखिएको प्रतिष्पर्धा कडा हुने अनुमान भइरहेको छ । 

पाँचदलीय गठबन्धनका कारण देशभर एमालेलाई अप्ठ्यारो परिरहेको समयमा प्रभावशाली नेताहरूको जिल्ला गुल्मीमा तीब्र प्रतिष्पर्धा हुने देखिएको छ । विष्ट र झाक्री दुबै ‘हेबी वेट’ जुधेको खण्डमा चुनाव रोचक हुने पनि देखिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्