
अफगानिस्तानको राजधानी काबुलमा रहेको रुसी राजदूतावास बाहिर आतंकवादीहरूले सोमवार आक्रमण गर्दा दुईजना रुसी कूटनीतिकर्मीको मृत्यु भएको छ ।
अहिलेसम्म कुनै समूहले विस्फोटको जिम्मेवारी लिएको छैन ।
अफगान प्रहरीका अनुसार, आत्मघाती आक्रमणकारी रुसी दूतावासको गेट नजिक आएको थियो । उसलाई गेटमा तैनाथ गार्डहरूले गोली हानेका थिए । तर त्यसअघि नै उसले आफूलाई बमले उडाएको थियो ।
उसले भिजाका लागि लाइनमा बसेका मानिसहरूलाई तारो बनाउन खोजेको अनुमान छ ।
घटनामा कम्तीमा २० जनाको मृत्यु भएको बताइएको छ ।