
चितवनमा जापानीज इन्सेफ्लाइटिसको महामारी देखिएको छ । २२ जना शंकास्पदको नमूना परीक्षणका क्रममा नौ जनामा संक्रमण पुष्टि भएको हो । विश्व स्वास्थ्य संगठनको निर्देशिकाले यसरी जापानीज इन्सेफ्लाइटिसको बिरामी देखिनुलाई महामारी भन्ने गर्दछ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा– १२ जनाको परीक्षणमा चार जनामा, माडीमा पाँच जनाको परीक्षणमा दुई जनामा, राप्तीमा दुई जनाको परीक्षणमा एक जनामा, कालिका नगरपालिकामा एक जनाको परीक्षणमा एकैजनामै र रत्ननगरमा दुई जनाको परीक्षणमा एक जनामा संक्रमण देखिएको हो । साउनको १५ गतेदेखि बिरामी देखिन थालेकोमा भदौ १८ गते यो संख्या बढेर नौ पुगेको हो । यहाँ परीक्षण गर्दा नमूनामा शंकास्पद देखिएपछि नमूनालाई काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।
कार्यालयका प्रमुख दुर्गादत्त चापागाईंका अनुसार संक्रमितमध्ये जटिल अवस्थाका दुई जनाको भरतपुर अस्पतालको सघन उपचार उपचार भइरहेको छ । माडीमा एक वृद्ध नागरिक अर्धचेत अवस्थामा रहेका छन् । अन्यको अवस्थाको बारेमा जानकारी लिने काम भइरहेको भए पनि अहिलेसम्म रोगका कारण मृत्यु हुन नपाएको उनले जानकारी दिए । जिल्लामा यो रोगले महामारीको रुप लिएको सम्भवतः पहिलो भएको प्रमुख चापागाईंले बताए । हाल उक्त रोग देखिएका चार पुरुष र पाँच महिला छन् । उनीहरु २९ वर्ष उमेरदेखि ७५ वर्षसम्मका छन् । देशभर संक्रमितको संख्या ४५ छ । उनका अनुसार बागमती प्रदेशमा यो संख्या १८ पुगेकामा नौ जना चितवनमा देखिएको हो ।
सन् २०२० र २०२१ मा जिल्लामा यो संख्या एक–एक जना थियो । सन् २०१९ मा जिल्लामा यो संख्या शून्य थियो । सन् २०१८ मा एक जनामा संक्रमण देखिएको थियो ।
प्रमुख चापागाईंले भने, ‘सम्भवत जिल्लामा यसरी महामारीको रुपमा बढेको पहिलो हो ।’ सन् २०१८ मा देखिएका बिरामी १५ वर्ष मुनिका थिए भने त्यसपछिका सबै १५ वर्षभन्दा माथिका हुन् । विश्व स्वास्थ्य संगठनले एउटा जापानीज इन्सेफ्लाइटिसको बिरामी देखिँदा तीन सय बिरामी लुकेको अवस्थामा हुने प्रक्षेपण गरेको हुन्छ ।
यसलाई हेर्दा चितवनमा २ हजार ७ सय जनामा संक्रमण हुनसक्ने भन्दै सतर्कता अपनाइएको उनको भनाइ थियो । स्वास्थ्य संगठनले कुनै निश्चित भूगोल, समुदाय र समयमा अनुमानितभन्दा बढी जापानीज इन्सेफ्लाइटिसका बिरामी देखिएमा त्यसलाई महामारी भन्ने गरेको छ ।
नेपालको इतिहासमा सन् १९७८ मा रुपन्देही जिल्लामा पहिलो पटक यो रोग देखिएको थियो । सन् २००४ मा देशव्यापी रूपमा खोजपडताल अभियान गरिएको थियो । सन् २००६, सन् २०११ र २०१६ मा राष्ट्रिय अभियानको रुपमा जनचेतनामूलक कार्यक्रम (क्याम्पियन) गरिएको थियो ।
सन् २००९ देखि नियमित रुपमा १२ महिना पुगेका बालबालिकालाई खोप लगाइँदै आइएको छ । रोग देखिएका बिरामीमध्ये एक तिहाईको निको हुने, एक तिहाई अपांग हुने र एक तिहाइको मृत्यु हुने विश्व स्वास्थ्य संगठनको प्रक्षेपण छ ।
अहिले जिल्लामा ग्रामीण क्षेत्रमा यो रोग बढी देखिएको छ । यो रोग लागेका बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, बान्ता आउने, बेसुरको हुने, कहिलेकाहीँ बेहोस हुने, छारे रोगको झै शरीरमा कम्पन आउने उनले जानकारी दिए । क्यूलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्ने चितवन स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए । उनले ग्रामीण क्षेत्रमा सुंगुर, बंगुर र हाँस पालिएको ठाउँ वरिपरी रहँदा विशेष ख्याल गर्न र रोगको आशंका भएमा तत्काल उपचार गर्न आग्रह गरे । रासस