२४ असार २०८३, बुधबार

राष्ट्रिय सभाबाट कारागार विधेयक पारित

राष्ट्रिय सभाबाट कारागार विधेयक पारित

राष्ट्रिय सभा बैठकले कारागार विधेयक, २०७६ लाई पारित गरेको छ । मंगलवार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको कारागार विधेयक पारित गरेको हो ।

बैठकमा विधेयकमाथि छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाणले ५० प्रतिशत कैद भुक्तान गरिसकेका र आचरण, व्यवहार सुधारेका कैदीहरूको कैद मिनाहा गर्ने पक्षमा सरकार रहेको बताए । उनले कारागारमा पनि संरचनाले धान्नेभन्दा बढी बन्दीहरू रहेको उल्लेख गर्दै आचरण सुधारेकालाई बाहिर निकाल्न पाए कारागारमा सहजता हुने बताए । 

उनले जन्मकैदको सजाय, तेजाब आक्रमण , जबर्जस्तीकरणी, मानव बेचबिखन, भ्रष्टाचार, अपहरण, लागु औषधको ओसार पसार, सम्पत्ति शुद्धिकरण, संगठित अपराधलगायतका २० वटाभन्दा बढी प्रकारको मुद्दामा भने कैद मिनाहा गर्न नमिल्ने स्पष्ट पारे । 

‘आचरण र व्यवहार सुधारेका बन्दीहरुलाई ५० प्रतिशत उनीहरुले कैद भुक्तान गरिसकेपछि उनीहरुलाई कैद मिनाहा गर्ने अवसर मिलोस् नै भन्नेमा हामीहरु छौँ । प्रत्येक जेलमा त्यो जेलको संरचनाभन्दा बढी बन्दी छन् । त्यसकारणले आचरण सुधारेकालाई छोड्न पायो भने अलि त्यहाँ सहज हुन्थ्यो कि भन्ने त्यहाँ भित्र पनि छ । बाहिर हाम्रो मानसिकतामा पनि छ’, उनले भने, ‘तर यो कैद कट्टी गर्ने बारेमा बन्दीहरुले कैद कट्टीको लागि बन्दीहरुले प्रयत्न गर्नु त स्वभाविकै हो । तर नकारात्मक सूची छ । नकारात्मक सूचीमा परेकाहरुलाई गर्नै मिल्दैन । सायद तिनीहरुलाई थाहा छैन कि । २० वटा भन्दा बढी मुद्दामा कैद मिनाहा गर्नै मिल्दैन ।’ 

त्यसैगरी बैठकले शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरेको छ । राष्ट्रिय सभाले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । 

राष्ट्रिय सभाको आगामी बैठक भदौ २६ गते आइतवार दिउँसो १२ः५९ बजे बस्नेगरी बोलाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्