
काठमाडौं महानगरपालिकाले अवैध र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम कसैले रोक्न नसक्ने बताएको छ । महानगरपालिकाले यसलाई निरन्तर अघि बढाउने जनाएको छ ।
कानूनीरुपमा अवैध ठहर भएका सबै संरचना भत्काउने काम निरन्तर गरिने नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए . त्यसका लागि नक्साअनुरुप वैध, अवैध यकिन गर्ने काम भइरहेको उनले जानकारी दिए । । ‘नक्साविपरीतका संरचना, नक्सा पास नगरी निर्माण भएका संरचना र सार्वजनिक जग्गा मिचेर बनाएका सबै संरचना भत्काउने काम कामपाको कर्तव्यभित्र पर्छ’, उनले भने ।
यो कामलाई अभियानका रुपमा सञ्चालन गरिने उनले बताए । ‘महानगरको ३२सै वडामा निर्माण भएका यस्ता कुनै पनि संरचना बाँकी राखिने छैन’, महानगर प्रमुख बालेन्द्र साह (बालेन)को सचिवालय सदस्य सुनिल लम्सालले भने । संरचना निर्माणका सम्बन्धमा पहिला कागजपत्र देखाउन सम्बन्धित व्यक्तिलाई आग्रह गरिने र गलत प्रमाणित भए थप कानूनी प्रक्रिया अघि बढाउन कामपाले जनाएको छ । त्यसका लागि ३५ दिने सार्वजनिक सूचना जारी गरेको र उक्त सूचनाको बेवास्ता गरिएकाले यही भदौ ६ गतेदेखि अवैध संरचना भत्काउने काम शुरु गरिएको लम्सालले जानकारी दिए ।
कहाँ–कहाँ भत्काइए अवैध संरचना ?
उक्त अभियानअन्तर्गत हालसम्म बानेश्वर कम्प्लेक्स तथा काठमाडौं मलका अवैध संरचना, आरबी कम्प्लेक्सका करिब १४ वटा साना पसल र बानेश्वरमा रहेको अल्फाबिटामा पनि निर्माणविपरीत प्रयोग भएका संरचना भत्काइएका छन् ।
त्यस्तै त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा राखिएको विद्युतीय विज्ञापन पनि महानगरप्रमुख बालेनको निर्देशनमा हटाइसकेको छ । एक साताअघि वनस्थली चोकबाट ढुंगेधारा जाने बाटोमा रहेको सात टहरा र तीन वटा भर्याङ पनि कामपाले डोजर लगाएर भत्काइसकेको छ ।
त्यसैगरी विगत दुई दिनमा कामपाले बालाजु नयाँ बसपार्क आसपास र कोटेश्वरमा गरी एक सय बढी कानूनविपरीत निर्माण भएका संरचना भत्काएको छ । आइतवार कोटेश्वर प्रहरीचौकी नजिकैको ५० भन्दा बढी अवैध संरचना भत्काइएको थियो भने सोमवार पनि बसपार्कबाट गोंगबुतर्फ २० मिटर अगाडि मित्रनगरमा रहेको ५० भन्दा बढी अवैध संरचना भत्काइएको कामपाले जनाएको छ । यसरी भत्काइएका संरचनाअन्तर्गत सडक पेटी मिचेर बनाइएका सटर, टहरा, सटर अगाडिका छत र सडक मिचेर बनाइएका भर्याङ रहेको कामपाको भनाइ छ ।
अवैध संरचना हटाएसँगै हाल उपत्यकामा भइरहेको पार्किङको समस्या २५ प्रतिशतले समाधान हुनाका साथै ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने कामपाले विश्वास लिएको छ । हाल बेसमेन्ट र अन्डरग्राउन्ट पार्किङ राख्ने शर्तमा कर छुट लिइरहेका ३५ वटा भवन रहेको कामपाले जनाएको छ । ती सबैलाई कानूनी दायरामा ल्याउने तयारी छ ।
कामपाको ध्यान असनका फुटपाथ पसलतर्फ
अवैध संरचना हटाउन निरन्तर लागिरहेको कामपाको ध्यान मंगलवार असन र इन्द्रचोकमा अस्तव्यस्तरुपमा सञ्चालन भइरहेका पसलतर्फ गएको छ । अहिले यस क्षेत्रका फुटपाथको व्यापार हटाउने कामसँगै अव्यवस्थित हुने गरेको पार्किङ पनि व्यवस्थापन गर्ने काम भइरहेको नगर प्रहरी प्रमुख पाण्डेले बताए ।
सडकपेटीसम्म राखिएको केही सामग्री नै हटाए पनि फुटपाथमा राखेका भाँडाकुँडा, खेलौना पसल, फेन्सीका सामान, माटाका सामग्री भोलि बिहानसम्म हटाउन निर्देशन दिइएको उनले बताए । रासस