
लागुऔषध नियन्त्रण ब्यूरोले पछिल्लो ५ दिनको अवधिमा १५ जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । ब्यूरोले मंगलवार पत्रकार सम्मेलन गर्दै भदौ १६ गतेदेखि २० गतेसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट खैरो हेरोइन, गाँजा र अन्य नियन्त्रित लागुऔषधको कारोबार गर्ने १५ जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।
प्रहरीले लागुऔषध कारोबारीको साथबाट खैरो हेरोइन २८७.५ ग्राम, ब्रुपेनोर्फिन, डाइजेपाम र फेनारगन गरेर २५२ एम्पल बरामद गरिएको प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले बताए । त्यसैगरी लागुऔषधको बिक्री वितरणबाट प्राप्त १० लाख ६२ हजार १ सय रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ ।
त्यस्तै पार्सलको रूपमा अमेरिकाबाट आएको २ किलोग्राम गाँजा र हेरोइन जोख्न प्रयोग गरिने ४ वटा डिजिटल तराजु पनि बरामद गरिएको उनले उल्लेख गरे । पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतबाट लागुऔषध ऐनअनुसार म्याद थप भएर अनुसन्धान तथा कारबाही भइरहेको उनले जानकारी दिए ।
उनीहरुको साथबाट १७ थान मोबाइल पनि बरामद गरिएको छ । बरामद भएको कुल लागुऔषधको अवैध बजार मूल्य २९ लाख, ९९ हजार ४ सय रुपैयाँ रहेको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।