
सत्तारूढ गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको बैठक मंगलवार साँझ ६ बजे बस्ने भएको छ ।
गठबन्धन कार्यदलका सदस्य तथा जनता समाजवादी पार्टीका नेता रामसहाय प्रसाद यादवले मंगलवारै साँझ ६ बजे बैठक बसेर सिट बाँडफाँटबारे सहमतिको प्रयास गर्ने बताए ।
गठबन्धनले आगामी चुनावमा तालमेल गर्ने निर्णय गरेको भए पनि सिट बाँडफाँटमा सहमति बन्न सकेको छैन ।
गत आइतवार बसेको शीर्ष नेता सहितको बैठकले सोमवार र मंगलवार कार्यदलले तयारी गरेर सिट बाँडफाँटको काम टुंगो लगाउने भनेको थियो ।
गठबन्धनमा रहेका दलहरूले निर्वाचन क्षेत्र र सिटको बाँडफाँटबारे एकैपटक प्याकेजमा निर्णय गर्ने तयारी भइरहेको बताएका छन् ।
मंगलवार धनगढी पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसले ८० र माओवादी केन्द्रले ६० सिटको आसपासमा पाउने गरी सहमति हुन लागेको दाबी गरेका थिए ।
एकीकृत समाजवादी र जनता समाजवादीले २५ सिटको हाराहारीमा दाबी गरेको पनि उनले बताएका थिए ।
‘नेपाली कांग्रेसले शुरूमा १०० सिटमा दाबी गरेको थियो । अहिले ८० सिटको आसपासमा सहमत हुने सम्भावना छ । हामीले ६० सिटमा दाबी गरेको हो । त्यसमा केही तलमाथि होला तर त्यसकै वरिपरि हुन्छ भन्ने विश्वास छ,’ प्रचण्डले भनेका थिए ।