
नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेकपा एमालेभित्र उम्मेद्वार सिफारिसमा कुनै विवाद नरहेको दाबी गरेका छन् । मंगलवार नयाँ बानेश्वरस्थित संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कुनै पनि स्थानमा विवाद भएको सूचना नपाएको बताए ।
एमालेमा विगतमा मतदान गरेर उम्मेदवार सिफारिस गर्ने भए पनि यो पटक तीनजना भन्दा बढीले इच्छा व्यक्त गरे पनि सिफारिस भइरहेको उपाध्यक्ष पाण्डेले जानकारी दिए । उनले यसरी तीन जनाभन्दा बढी नाम सिफारिस भएर आए पनि सबैभन्दा बढी जितको सम्भावना भएका उम्मेदवार भनेर प्रदेश कमिटीको सिफारिसको आधारमा सचिवालयले छनोट गर्ने बताए । उनले राष्ट्रिय सभाका सदस्यलाई टिकट नदिने निर्णय गरेकाले कुनै विशेष अवस्थामा मात्रै निर्णय हुनसक्ने बताए ।
उपाध्यक्ष पाण्डेले देशभर शीर्ष नेताहरूको मात्रै एकल नाम सिफारिस नभएको दाबी गरे । उनले जिल्लाबाट सिफारिस हुँदैमा उम्मेदवार फाइनल भए भनेर सिफारिस भएका उम्मेदवारहरूले सोच्नु नहुने बताए । उनले पार्टीको सचिवालयले फाइलन गरेपछि मात्रै उम्मेदवारको टुंगो लाग्ने बताए ।