
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टीमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न अदालतसँग अनुमति माग्ने तयारी प्रहरीले गरेको छ ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भरतबहादुर बोहोराका अनुसार अहिले प्रहरीले प्रमाणहरू संकलन गरिरहेको र पक्राउका लागि अदालतमा अनुमति माग्ने तयारी भइरहेको बताए ।
‘अहिले प्रक्रियामा छौं,’ एसएसपी बोहोराले लोकान्तरसँग भने, ‘अनुसन्धान भइरहेको छ ।’
काठमाडौं प्रहरी परिसर र प्रहरी वृत्त गौशालाको टोली अहिले घटना भएको भनिएको होटलहरूको सीसीटीभी फुटेज संकलनका लागि खटिएको एसएसपी बोहोराले बताए ।
‘हामी अनुसन्धानमा लागिरहेका छौं । त्यसमा आवश्यक प्रमाण जुटाउने काम भइरहेको छ,’ एसएसपी बोहोराले लोकान्तरसँग भने ।
पीडितले बसेको भनेको नगरकोटको होटल र काठमाडौंको गौशालास्थित काठमाडौं इन होटलको सीसीटीभी फुटेजको अनुसन्धान प्रहरीले गरिरहेको छ ।
काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा लगी होटलमा ल्याएर मध्यरातमा जबरजस्ती करणी गरेको विवरण जाहेरीमा उल्लेख छ ।
लामिछाने क्यारेबीयन प्रिमियर लिग खेल्नका लागि अहिले वेस्टइन्डिजमा छन् । अन्तर्राष्ट्रिय सिरिजका लागि केन्या पुगेका उनी त्यतैबाट वेस्टइन्डिज गएका हुन् ।
टीमका अन्य सदस्य भने आजै स्वदेश फर्किएका छन् ।