रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको तेल र ग्यास निर्यातमा अधिकतम मूल्य तोकिएमा रुसले आपूर्ति बन्द गरिदिने चेतावनी दिएका छन् ।
भ्लादिभोस्तोक शहरमा आयोजित वार्षिक आर्थिक सम्मेलनमा पुटिनले रुसी ग्यासमा मूल्य निर्धारण गर्न युरोपले गरेको आह्वान मूर्खतापूर्ण भएको बताए । यसले विश्वभरि ग्यासको मूल्य बढ्ने तथा युरोपमा आर्थिक समस्या बल्झिने उनको भनाइ छ ।
जी७ नेताहरूले गत साता रुसी तेल निर्यातमा मूल्य निर्धारणको घोषणा गरेका थिए । यस कदमले रुसलाई जी७ मुलुकबाहेक अन्यत्रबाट ट्यांकर र बीमा सुरक्षित पार्न पनि अवरोध गर्नेछ ।
रुसी ग्यासमा मूल्य निर्धारण गरिएमा रुसले पश्चिमलाई ग्यास आपूर्ति नगर्ने र मस्कोसँग एसियामा प्रशस्त ग्राहक रहेको पुटिनले बताए ।
‘हाम्रो हितविपरीत काम गरे हामी केही पनि आपूर्ति गर्दैनौं,’ पुटिनले बताए । ‘ग्यास, तेल, कोइला, इन्धन केही पनि दिँदैनौं । रुसी परीकथामा भने जस्तो हामी ब्वाँसोको पुच्छर जम्नका लागि छोडिदिन्छौं । अनि बल्ल उनीहरूको चेत खुल्छ ।’