कायमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालत न्यायालय सुधारको अभियानमा जुटेको बताएका छन् । उनले अब सेवाग्राहीलाई न्याय दिलाउने कुरामा ढिलाइ नहुने भन्दै सर्वोच्च सुधारको पक्षमा जुटेको बताएका हुन् ।
आज जिल्ला अदालत बझाङको भवन उद्घाटन कार्यक्रममा उनले न्यायमा ढिलाइ भए जनतास्तरमा गलत सन्देश जाने बताए। “अदालतमा एक दुई जना सेवाग्राही आउनुभएको हुन्छ”, उनले भने, “एक दुई जनालाई पनि हामीले ढिलाइ गरेर राख्यौँ, समयमा काम गरिदिएनौँ, मुद्दा मामिला ढिलाइ ग¥यौँ भने ती सेवाग्राहीले समाजमा गएर गलत सन्देश म्यासेज सम्प्रेषण गर्नुहुन्छ ।” त्यसले न्यायालयबारे गलत गहिरो गलत सन्देश जाने उनले बताए ।
“न्यायालयको बेवास्ताका कारण समाजले नै अदालतमा ढिलासुस्ती हुने रहेछ । अदालतमा त भनेको बेला काम नहुने रहेछ भन्ने गुनासो आउँछ । यस्ता सामान्य कुराले पनि समाजमा गलत सन्देश जान सक्छ”, कामु प्रधानन्यायाधीश कार्कीले भने ।
उनले अदालतमा आउने जो कसैलाई पनि झुलाउने प्रयास गर्न नहुने बताए । उनले मातहतका सबै न्यायालयमा जान नसकिने भन्दै सबैले आ–आफ्नो दायित्व पूरा गर्नुपर्ने बताए ।
उनले तारिखका लागि एउटा पक्ष आउने र अर्को पक्ष नआएको थाहा पाए त्यसमा स्वार्थ भएको टिप्पणी गर्न सक्ने बताए । “एक पक्ष आउने र अर्को पक्ष नआउँदा आएको पक्षले स्वार्थवश हामीलाई झुलाइरहेको छ भन्ने सोच्न सक्छ । उसलाई बुझाइ दिनुस् न । यो कारणले तपाईंको तारि ढिला भएको हो भनेर ।” सामान्य कुरा भए पनि यस्ता कुरामा गम्भीर हुनुपर्ने उनको भनाइ थियो । रासस