
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको दल युनाइटेड रसियाले युक्रेनमा रुसी सेनाको नियन्त्रणमा रहेको भूभाग रुसमै मिसाउनका लागि जनमतसंग्रह गर्नुपर्ने प्रस्ताव गरेको छ ।
बुधवार उक्त दलका महासचिव आन्द्रे टुर्चाकले रुसको राष्ट्रिय एकता दिवस अर्थात् नोभेम्बर ९ मा जनमतसंग्रह गराउनु सही हुने बताए ।
उनले भने, ‘डोनेत्स्क, लुगान्स्क र अन्य शहरहरू घर फर्किनेछन् । त्यसपछि औपचारिक सीमामा विभाजित रुसी संसारले आफ्नो अखण्डता कायम गर्नेछ ।’
सत्तारूढ दलको घोषणापछि खर्सन क्षेत्रका रुससमर्थक अधिकारी किरिल स्ट्रेमोउसोभले आफूहरू जनमतसंग्रहका लागि तयार रहेको बताए ।
रुसी सेनाले खर्सन लगायत युक्रेनका दक्षिणी राज्यहरूलाई नियन्त्रणमा लिएको छ ।
फेब्रुअरी २४ मा विशेष सैन्य कारवाही शुरू गर्नुअघि पुटिनले डोनेत्स्क र लुगान्स्क क्षेत्रलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएका थिए ।