३० जेठ २०८३, शनिबार

डेंगु नियन्त्रण प्रयासः सरकारले ‘लार्भा खोज र नष्ट गर’ अभियान तीव्र बनाउने

डेंगु नियन्त्रण प्रयासः सरकारले ‘लार्भा खोज र नष्ट गर’ अभियान तीव्र बनाउने

पछिल्लो समय डेंगु रोगको संक्रमण बढ्दै गएपछि सरकारले यसको नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ । बुधवार मुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा बसेको बैठकले डेंगु रोगको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । 

बैठकले डेंगु रोग सार्ने लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ अभियानलाई तीव्र बनाउने निर्णय गरेको छ । यसका लागि सचेतनामूलक तथा सूचनामूलक श्रव्य तथा दृश्य सामग्री विभिन्न तह तथा माध्यमबाट प्रचारप्रसार गरिने छ । 

त्यस्तै, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाटसमेत रोगको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समन्वय तथा सहजीकरण गर्ने बैठकले निर्णय गरेको छ । 

बैठकले मोबाइल रिंगटोनबाट समेत प्रचार–प्रसार गर्ने व्यवस्था मिलाउने, रोगको पहिचान र उपचारमा कमी हुन नदिन आवश्वक व्यवस्था मिलाउने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता माहादेव पन्थले जानकारी दिए । 

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवहरू मधुकुमार मरासिनी, डा. रामप्रसाद घिमिरे, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव देवकुमारी गुरागाईं, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव अर्जुनकुमार पोख्रेल, खानेपानी मन्त्रालयका सचिव मणिराम गेलाल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमन सिंह, निर्देशक, चुमनलाल दास, डा. संजयकुमार ठाकुरलगायतको उपस्थिति रहेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्