आर्थिक वर्ष २०७९/०८० देखि निजामती सेवामा रिक्त पदहरूको पदपूर्ति गर्दा लोक सेवा आयोगले गर्ने विज्ञापनमा अंकभार परिवर्तन गर्ने भएको छ । लोक सेवा आयोगका प्रवक्ता तोयनारायण सुवेदीले बिहीवार विज्ञप्ति जारी गरी उक्त जानकारी दिएका छन् ।
राजपत्रांकित प्रथम श्रेणी (अप्राविधिक), सहसचिव वा सो सरहको पदको द्वितीय चरणको सक्षमता परीक्षाअन्तर्गत मामिला प्रस्तुतिकरणको पूर्णांक साविकको ५० अंकको सट्टा ३० अंक मात्र कायम गर्ने आयोगले निर्णय गरेको छ ।
त्यसैगरी राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह, राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह, राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरहका पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको प्रथम चरण (प्रथम पत्र) मा उम्मेदवारले प्राप्त गरेको कूल अंक (प्राप्तांक) को ५० प्रतिशत अंकभार कायम गरी अन्तिम चरणको योग्यताक्रम गणना गर्ने आयोगले निर्णय गरेको छ ।
